
गौरीडाँडा, बैशाख २७ –
जनता साहित्यिक मञ्च गौरीडाँडाको ११ औँ शृङ्खला कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । मञ्चकी अध्यक्ष प्राची सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तल्लो सदनको नयाँ समिति गठन गरिएको हो ।
कार्यक्रम तल्लो सदनकी सचिव शुभेच्छा घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो । मञ्चका अध्यक्षसहित केही सदस्यहरू एस.ई.ई. परीक्षामा सहभागी भएकाले नयाँ समिति गठन गर्नु परेको आयोजकले जनाएका छन् । हालका लागि १५ सदस्यीय समिति पुनर्गठन गरिएको हो ।
नवगठित समितिमा शुभेच्छा घिमिरे अध्यक्ष चयन भएकी छन् । उपाध्यक्षमा स्मृति पराजुली र रोस्तिका काफ्ले, सचिवमा श्रेया कर्ण, सहसचिवमा मदन वराल, र कोषाध्यक्षमा निकी सिंह (महतो) चयन भएका छन् । यस्तै, सदस्यहरूमा आकर्ष पोखरेल, सृष्टि वराल, प्रतिष्ठा पौडेल, रोजिना घिमिरे, आरती काफ्ले, विदुषी अर्याल, जिबिका तामाङ, प्रणव गौतम, सन्ध्या रोका, प्रवीण साह, र सुकृती पोखरेल रहेका छन् । केही सदस्य पछि थप गरिने जानकारी दिइएको छ ।
कार्यक्रममा बोल्दै शिक्षक रामचन्द्र पौडेलले विद्यालयका सबै तहका विद्यार्थीमा साहित्यप्रतिको रुचि अभिवृद्धि गर्ने उद्देश्यले साहित्यिक मञ्च गठन गरिएको जानकारी दिए । कक्षागत क्षमताअनुसार मञ्चलाई दुई भागमा विभाजन गरी माथिल्लो र तल्लो सदन बनाइएको उनले बताए ।
कार्यक्रमको अन्त्यमा सभाध्यक्ष प्राची सुवेदीले सहभागी सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेकी थिइन् । कार्यक्रम जनता माध्यमिक विद्यालय, गौरीडाँडाको सभाहलमा सम्पन्न भएको थियो ।