अयोध्याबाट आएको सरयू-कमला एक्सप्रेस जनकपुरधाममा, एक हजारभन्दा बढी तीर्थयात्रीको भव्य स्वागत


जनकपुरधाम । भारतको उत्तर प्रदेशस्थित अयोध्याबाट सोमबार दिउँसो प्रस्थान गरेको सरयू-कमला एक्सप्रेस रेल मंगलबार बिहान जनकपुरधाम आइपुगेको छ। रेलसँगै आएका तीर्थयात्रीलाई जनकपुरधाममा सरकारी प्रतिनिधि तथा स्थानीयवासीले नेपाल र भारतका राष्ट्रिय झण्डा बोकेर भव्य स्वागत गरेका छन्।

रेल जनकपुरधाम आइपुग्दा स्वागतमा उपस्थित स्थानीयवासीले तीर्थ यात्रीलाई फूलमाला लगाएर स्वागत गरेका थिए। धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले सञ्चालन गरिएको उक्त रेलसेवाले नेपाल-भारतबीचको ऐतिहासिक सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री बालेन शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार भारतको नयाँ दिल्लीबाट झण्डा देखाएर रेलसेवाको शुभारम्भ गरेपछि अयोध्याबाट जनकपुरधामका लागि रेल प्रस्थान गरेको थियो।

नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार १७ वटा डब्बा रहेको रेलमा एक हजारभन्दा बढी तीर्थयात्री जनकपुरधाम आइपुगेका छन्। उनीहरूलाई जनकपुरधाम रेल्वे स्टेसनसहित विभिन्न स्थानमा स्वागत गरिएको उनले बताए।

पराजुलीका अनुसार तीर्थयात्रीको स्वागतका लागि विभिन्न व्यवस्थासँगै सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको छ। जनकपुरधाममा स्वागत तथा सत्कारपछि तीर्थयात्रीले जानकी मन्दिरलगायत धार्मिक स्थलको दर्शन तथा पूजाआजा गर्ने कार्यक्रम रहेको छ।

जानकी मन्दिरका सहायक महन्त रामरोशन दासले अयोध्याबाट आएका श्रद्धालुका लागि मन्दिरमा दर्शन तथा पूजाको व्यवस्था मिलाइएको जानकारी दिए। मन्दिरमा आउने तीर्थयात्रीलाई स्वागतसमेत गरिने उनले बताए।

तीर्थयात्रीलाई जनकपुरधामका विभिन्न धार्मिक स्थलको अवलोकन गराएपछि दिउँसो साढे १२ बजेसम्म रेल्वे स्टेसन फर्काउने तालिका रहेको छ। स्टेसनमा खाजाको व्यवस्था गरी उनीहरूलाई पुनः बिदाइ गरिने नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक पराजुलीले बताए।

निर्धारित कार्यतालिकाअनुसार रेल दिउँसो १ बजेसम्म अयोध्याका लागि फर्किनेछ। जनकपुरधाममा करिब तीन घण्टाको बसाइका क्रममा तीर्थयात्रीले उपलब्ध समयभित्र धार्मिक तथा पर्यटकीय स्थलको अवलोकन गर्नेछन्।

अयोध्यालाई भगवान् रामको जन्मभूमि तथा जानकीको ससुराली र जनकपुरधामलाई माता जानकीको माइती तथा भगवान् रामको ससुरालीका रूपमा लिइन्छ। धार्मिक मान्यताअनुसार यी दुई स्थलबीच त्रेतायुगदेखि जोडिएको सम्बन्धलाई रेलसेवाले थप प्रगाढ बनाउने विश्वास गरिएको छ।

यस रेलसेवाले नेपाल-भारतबीचको परम्परागत रोटीबेटी सम्बन्धलाई थप मजबुत बनाउनुका साथै धार्मिक पर्यटन, सांस्कृतिक आदानप्रदान र तीर्थाटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको