सर्लाही । उपचारका लागि अस्पताल ल्याइएकी गर्भवती महिलाको मृत्यु भएपछि सर्लाहीको बरहथवा नगर अस्पतालमा आइतबार राति आगजनी र तोडफोड भएको छ । चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको आरोप लगाउँदै मृतकका आफन्तले अस्पतालमा तोडफोड तथा आगजनी गरेका हुन् ।
बरहथवा नगरपालिका-५, हात्तीडण्डा निवासी रुपेश महरा (चमार) की २२ वर्षीया श्रीमती सीमा देवी रामको आइतबार राति मृत्यु भएको हो । मृतकका आफन्तले अस्पतालमा उपचारका क्रममा चिकित्सकले लापरवाही गरेको आरोप लगाएका छन् ।
अस्पतालले भने बिरामीको मृत्यु अस्पतालमा नभई वीरगन्ज रेफर गरेपछि अन्यत्र उपचारका क्रममा भएको दाबी गरेको छ । अस्पतालका अनुसार बिरामीको अवस्था गम्भीर भएपछि थप उपचारका लागि वीरगन्ज पठाइएको थियो । तर, परिवारले रौतहटको चन्द्रनिगाहपुर पुर्याएर परीक्षण गराउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
मृत्युको खबरपछि आक्रोशित आफन्त तथा स्थानीयवासी अस्पताल पुगेका थिए । उनीहरूले गरेको तोडफोड र आगजनीबाट बरहथवा नगरपालिकामातहत सञ्चालित नगर अस्पतालको आकस्मिक कक्षलगायत विभिन्न भागमा क्षति पुगेको छ । प्रहरीको प्रारम्भिक विवरणअनुसार घटनाबाट करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
सर्लाही प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले घटनामा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ पर्नेमा बरहथवा नगरपालिका-५ का ३३ वर्षीय राजेशकुमार महरा र २१ वर्षीय रोहन महरा तथा रौतहटको गुजरा नगरपालिका-९, सिमरा निवासी ४२ वर्षीया भुसेनी महरा र उहाँका २० वर्षीय छोरा राजन राम रहेका छन् ।
पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय बरहथवाको हिरासतमा राखिएको डिएसपी गौतमले बताउनुभयो । घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको उहाँले जानकारी दिनुभयो ।
घटनापछि नगर अस्पताल परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अस्पताल क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । बरहथवा नगरपालिकाकी प्रमुख कल्पनाकुमारी कटुवालले अवस्था सामान्य बनाउन तथा घटनाको छानबिनका लागि चिकित्सक, मृतकका आफन्त र सरोकारवालासँग छलफल भइरहेको बताउनुभयो ।
यसैबीच, नगर अस्पताल बरहथवाले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको कुटपिट र उपचार सेवामा अवरोध पुर्याइएको घटनाप्रति आपत्ति जनाएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रितेशकुमार कर्णले सोमबार जारी गर्नुभएको विज्ञप्तिमा गर्भवती महिलाको स्वास्थ्य परीक्षण गर्दा श्वासप्रश्वास अत्यन्त कमजोर हुनुका साथै मुटुको धड्कनसमेत कम पाइएको उल्लेख छ ।
बिरामीको अवस्था गम्भीर रहेकाले चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली तत्काल उपचारमा खटिएको र कृत्रिम श्वासनली राख्नेलगायत जीवन बचाउने प्रयास गरिएको विज्ञप्तिमा जनाइएको छ । उपचारका क्रममा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट हुनुका साथै अस्पतालमा तोडफोड गरिएको अस्पतालको भनाइ छ ।











