चन्द्रपुर । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै रौतहटको चन्द्रपुर नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नगरप्रमुखको उम्मेदवार को बन्ला भन्ने विषयलाई यतिबेला यहाँको राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ । रास्वपाले अघि सारेको ‘उम्मेदवार क्लब’ मा जोडिएका तथा जोडिन बाँकी आकाङ्क्षीहरूले सामाजिक सञ्जाल, चिया गफ र विभिन्न भेला तथा भेटघाटमा आ-आफ्नो दाबी पेस गरिरहेकै बेला, भिडभाडभन्दा बाहिर रहेका बुद्धिजीवी, नागरिक समाज र धैर्यवान् नागरिकहरूको सूक्ष्म नजर भने रास्वपाका अन्तर्मुखी र शान्त स्वभावका स्थानीय नेता मुकुन्द पौडेलतर्फ केन्द्रित रहेको देखिन्छ ।
साविक चन्द्रनिगाहपुर-१ (हाल चन्द्रपुर-५) मा जन्मिएका र लामो समय वाम राजनीतिक स्कुलिङमा रहेर स्वदेशलाई नै कर्मथलो बनाएका मध्यमवर्गीय परिवारका पौडेलले २०८२ को प्रतिनिधिसभा निर्वाचनमा रौतहट क्षेत्र नम्बर ४ को क्षेत्रीय निर्वाचन परिचालन समितिको मुख्य सचिवालय सम्हालेका थिए । सोही भूमिकाका कारण उनी क्षेत्र नम्बर ४ मा निकै प्रभावशाली व्यक्तित्व मानिन्छन् । गत निर्वाचन परिचालनमा उनले निभाएको भूमिकाबाट पनि उनी एक कुशल व्यवस्थापक हुन् भन्ने तथ्य स्थापित भएको देखिन्छ । स्वभाव र व्यवहारका हिसाबले रास्वपा चन्द्रपुरभित्र उनलाई कहीँ कतै कसैले औँला उठाउन नसक्ने भएकै कारण उनी नागरिकको खोजी र रोजाइमा परेको अनुमान गर्न सकिन्छ । आफ्नो शालीन, सभ्य र सहनशील स्वभावका कारण स्थानीय स्तरमा लोकप्रिय रहेकाले पनि मतदाताले उनलाई खोजेका हुन् ।
विसं २०८१ सम्म चन्द्रपुरमा सुषुप्त अवस्थामा रहेको रास्वपाको सङ्गठनलाई उनी नगर सचिव भएपश्चात् उल्लेख्य उचाइमा पुर्याएका हुन् । नगरभित्र रहेका करिब ४०० पार्टी सदस्यबाट हालसम्म १,३०० पुर्याउनुमा उनकै अथक साङ्गठनिक प्रयास देखिन्छ । चन्द्रपुर मात्र नभएर वृन्दावन, गरुडा र गढीमाई नगरपालिकामा समेत पौडेलको साङ्गठनिक प्रभाव राम्रो मानिन्छ ।
रास्वपाभित्रै ‘उम्मेदवार क्लब’ मा जानसमेत उछिनपाछिन चलेझैँ देखिँदा पौडेलले भने फरक राजनीतिक संस्कारको गतिलो उदाहरण प्रस्तुत गरेका छन् । रास्वपाका महाधिवेशन प्रतिनिधि समेत रहेका उनले महाधिवेशनबाट फर्किएलगत्तै आफू रहेको नगर सचिव पदबाट स्वैच्छिक राजीनामा दिएका थिए । सत्तारूढ दलको नगर सचिवजस्तो मर्यादित पद त्यागेर सामान्य सदस्यमै सन्तोष गरेलगत्तै नगरका धेरै नागरिकले पौडेल मेयर पदमै उम्मेदवारी दिन विवादरहित बन्न खोजेका हुन् कि भनी अनुमान नगरेका होइनन् । हाल नगरमा अर्को सचिवको आधिकारिक व्यवस्था नहुन्जेल नगर सभापति र सिङ्गो समितिलाई प्रशासनिक कार्यमा पूर्ण सहयोग गर्दै उनी एक साधारण सदस्यका रूपमा खटिरहेका छन् ।
के उनी ‘उम्मेदवार क्लब’ मा जालान् त ?
एकातिर सामाजिक सञ्जालमा उम्मेदवारीको दाबी गर्नेहरूको ताँती छ भने अर्कोतिर अनुशासन, क्षमता र सिर्जनशीलता बोकेका कार्यकर्ताहरू मौन रहेर परिस्थितिको सूक्ष्म मूल्याङ्कन गरिरहेका छन् । पदलाई साध्यभन्दा पनि सेवाको पर्यायका रूपमा लिने मुकुन्द पौडेलको यो सभ्य सोचले चन्द्रपुरवासीमा एउटा स्थिर आशा जन्माएको छ । यदि पौडेलले ‘उम्मेदवार क्लब’ मार्फत कदम चाले भने चन्द्रपुरले एक योग्य, अनुभवी र सकारात्मक सोच भएको नेतृत्व पाउने अपेक्षा स्थानीयले गरेका छन् ।
यसबारे जिज्ञासा राख्दा पौडेलले शालीनतापूर्वक प्रतिक्रिया दिए, “अहिले चाडपर्वको समय छ, सधैँझैँ मेरो समय साथीहरूसँगै पार्टी काममै बितिरहेको हुन्छ । यस क्रममा स्नेहले मेरो पनि नाम मतदाताले लिनु स्वाभाविक हो, तर निर्वाचन आयोगले चुनावको तिथिमिति तोक्न बाँकी नै छ । क्लबमा जाने वा नजाने भन्ने विषयमा उत्ताउलो नभई मतदाताको वास्तविक चाहना र वस्तुस्थितिले के माग्छ, त्यो बुझेर फुर्सदमा सोचौँला नि ! अहिले हतार छैन ।”
उत्ताउलो राजनीतिक होडबाजी र पदको प्यासभन्दा पर रहेर संयमता र धैर्य अपनाएका पौडेलले आगामी दिनमा कस्तो कदम चाल्लान् ? यो प्रश्न अहिले चन्द्रपुरका मतदाता र रास्वपा कार्यकर्ताहरूमाझ दिनप्रतिदिन पेचिलो बन्दै गएको देखिन्छ ।











