बर्दिबास । जनता साहित्यिक मञ्च गौरीडाँडा, बर्दिबास महोत्तरीको ३८औँ नियमित साहित्य शृङ्खला मंगलबार सम्पन्न भएको छ । मञ्चको माथिल्लो सदनको आयोजनामा मङ्सिर ८ गते आयोजित उक्त कार्यक्रम मञ्चकी उपाध्यक्ष शुभेच्छा घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो ।
मञ्चकी सचिव श्रेया कर्णले सञ्चालन गरेको कार्यक्रममा सहसचिव रामनाथ महतोले उपस्थित अतिथिहरूलाई स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा अतिथि रामचन्द्र पौडेलले साहित्य सिर्जनामा विद्यार्थीहरूको सक्रियता बढ्दै गएकोप्रति खुसी व्यक्त गर्दै साहित्यिक क्षेत्रमा निरन्तर लागिरहन यस्ता कार्यक्रमले प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
शृङ्खलामा विभिन्न विधा, भाव र लयका साहित्यिक सिर्जना वाचन गरिएको थियो । सिर्जना वाचन गर्नेहरूमा सृष्टि बराल, मुस्कान सिंह, निकी महतो, कृष्णप्रसाद उपाध्याय, रोहित यादव, प्रविण साह, रामनाथ महतो, शुभेच्छा घिमिरे, रेनुका, श्रेया कर्ण, रामचन्द्र पौडेल, रोहनलगायत रहनुभएको थियो ।
कार्यक्रमको अन्त्यमा सभाध्यक्ष शुभेच्छा घिमिरेले सहभागी सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि मञ्चका साहित्यिक गतिविधिमा निरन्तर साथ, सहयोग र समर्थन रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले धन्यवाद ज्ञापनसहित कार्यक्रम समापन गर्नुभएको थियो ।











