
१४ साउन, रौतहट । बलात्कार गरेको आरोपमा रौतहटमा नेपाली काँग्रेसका एक स्थानीय नेतालाई प्रहरीले पक्राउ गरेको छ ।
विवाहित महिलालाई करणी गरेको आरोपमा देवाही गोनाही नगरपालिकाका ५० वर्षका नागेश्वर कुश्वाहालाई प्रहरीले पक्राउ गरेको हो ।
सोही स्थानकी एक महिलाले आफूलाई फकाएर बाँसघारीमा लगेर जबरजस्ती करणी गरेको भन्दै उजुरी दिएकी पछि कुश्वाहालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
उजुरी दिने महिला विवाहित भएको प्रहरीले बताएको छ । उनीमाथि ३ दिन अघि बलात्कार भएको बताइएको छ ।
जबरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरेर जिल्ला अदालत गौरबाट ५ दिनको म्याद थमाई थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । पीडित महिलाका अनुसार आरोपीत कुश्वाहाले ३ दिन अगाडी घरयासी सामान लिने भनेर गरुडा बजारतर्फ लगेका थिए ।
त्यसपछि सामान खरिद नगरि बजारभन्दा केही पर जंगलमा लगेर जबरजस्ती बलात्कार गरेका थिए । प्रहरीले कुश्वाहालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ ।