जनकपुरधाम । मधेसको प्राचीन मिथिला क्षेत्रमा यतिबेला छठ पर्वको उल्लास छाएको छ । चार दिवसीय यस पर्वको दोस्रो दिन आज व्रतालुहरू ‘खरना’ विधिको तयारीमा जुटेका छन् । यसअघि पर्वको पहिलो दिन कात्तिक शुक्ल चतुर्थी अर्थात् शुक्रबार ‘नहाय-खाय’ विधि पूरा गर्दै व्रतालुले व्रतको सङ्कल्प गरेका थिए ।
पर्वको दोस्रो दिन अर्थात् पञ्चमी तिथिमा व्रतालुहरू बिहान पवित्र स्नान गरी दिनभरि निराहार उपवास बस्छन् । साँझ चन्द्रदर्शनपछि सख्खरमा पकाइएको खीर कुलदेवता र छठीमातालाई अर्पण गरी प्रसादका रूपमा ग्रहण गर्ने परम्परा छ । मैथिली भाषामा यस विधिलाई ‘खरना’ भनिन्छ ।
छठलाई मिथिलामा लोकआस्थाको महापर्वका रूपमा लिइन्छ । श्रद्धा, निष्ठा, समर्पण र आत्मशुद्धि यस पर्वका प्रमुख पक्ष हुन् । यही निष्ठाका साथ खरनाका दिन व्रतालुहरू दिनभरि उपवास बसेर सूर्यास्तपछि चन्द्रदर्शन गर्छन् । त्यसपछि माटोको नयाँ चुलो र माटाकै भाँडामा सख्खर, दूध तथा स्थानीय जातको धानको चामलबाट खीर पकाइन्छ । केराको पातमा राखेर छठीमातालाई अर्पण गरिएको खीर व्रतालु र परिवारका अन्य सदस्यले प्रसादका रूपमा ग्रहण गर्ने चलन छ ।
पर्वको तेस्रो दिन अर्थात् भोलि कात्तिक शुक्ल षष्ठीमा व्रतालुहरू निराहार व्रत बसेर साँझपख जलाशयमा बनाइएका आकर्षक घाटमा पुग्छन् । कम्मरसम्म पानीमा डुबेर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य अर्पण गर्छन् । मिथिलामा यस विधिलाई ‘सझुका अरख’ वा ‘सझिया घाट’ भन्ने गरिन्छ ।
त्यसैगरी, सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई दोस्रो अर्घ्य अर्पण गरेपछि पर्व समापन हुन्छ । उदाउँदो सूर्यलाई अर्घ्य दिने विधिलाई मिथिलामा ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ । अर्घ्य अर्पण गर्दा पहिले जटासहितको नरिवल र त्यसपछि पर्वका लागि तयार पारिएका मिष्टान्न परिकार तथा केरालगायत फलफूल सूर्यदेवलाई देखाउने परम्परा छ ।
छठ पर्वका अवसरमा बनाइने ठेकुवा, भुसुवालगायत मिष्टान्न परिकार इष्टमित्रलाई घरमै बोलाएर खुवाउने तथा आफन्त र नातेदारका घरमा पुर्याउने चलन छ । अर्घ्य अर्पणका क्रममा चढाइने यी परिकार ढिकी-जाँतोमा कुटेर वा पिसेर तयार पारिएको पिठोबाट बनाइन्छन् ।
केही वर्षअघिसम्म मधेसी हिन्दू समुदायमा मात्र सीमित रहेको छठ पर्व अहिले पहाडी हिन्दू समुदायले पनि उत्साहका साथ मनाउन थालेका छन् । मिथिलामा इस्लाम धर्मावलम्बीले समेत व्रतालुलाई अर्घ्य अर्पणका बेला सूर्यदेवसमक्ष देखाउन आफ्नो भाकलका सामग्री दिने गरेका छन् । यसले छठलाई सबै समुदायको साझा पर्वका रूपमा स्थापित गर्न सहयोग पुर्याएको छ ।
पर्वमा विभिन्न धर्म, संस्कृति र जातजातिका मानिस सहभागी हुने भएकाले छठ मिथिलाको लोकसंस्कृतिको अभिन्न अङ्ग बनेको छ । सबैको साझा बन्दै गएको हुनाले नै यस पर्वलाई लोकआस्थाको महापर्व भनिएको भङ्गाहा-५, सीतापुरस्थित माध्यमिक विद्यालयका प्रधानाध्यापक मनोहरप्रसाद यादवले बताउनुभयो ।











