धनुषा । चाडपर्वको समयमा जुवातास नियन्त्रण गर्न प्रहरीले सक्रियता बढाएसँगै धनुषाका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ३७ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार कात्तिक ७ देखि २४ गतेसम्म जिल्लाका विभिन्न स्थानमा गरिएको छुट्टाछुट्टै कारबाहीका क्रममा उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिकाका विभिन्न वडाका बासिन्दासहित महोत्तरी र सर्लाहीका व्यक्तिसमेत रहेका छन् ।
प्रहरी प्रवक्ता एवं डीएसपी ओमप्रकाश खनालका अनुसार पक्राउ परेकाहरूको साथबाट नेपाली रुपैयाँ ३ लाख ४८ हजार १०९ र भारतीय रुपैयाँ ३ हजार ५०० बरामद गरिएको छ । प्रहरीले तासका गड्डी, मोबाइल फोन तथा दुईवटा सवारीसाधनसमेत नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीका अनुसार कात्तिक ७ गते जनकनन्दनी गाउँपालिका-२ बल्हाबाट सात जना पक्राउ परेका थिए । इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको टोलीले दिउँसो करिब २ः४० बजे तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको थियो । उनीहरूको साथबाट नेपाली रुपैयाँ १३ हजार २८५, भारतीय रुपैयाँ २ हजार ३००, तासका दुई बुक र तीनवटा मोबाइल बरामद गरिएको थियो ।
त्यस्तै, कात्तिक १९ गते बिहान करिब ५ बजे जनकपुरधाम उपमहानगरपालिका-२३ स्थित बसपार्कबाट दुई जना पक्राउ परेका थिए । पक्राउ पर्नेमा जनकपुरधाम-७ का ४० वर्षीय सुजित शर्मा र ४६ वर्षीय शिवशंकर मिश्रा रहेका छन् । उनीहरूको साथबाट पाँच गड्डी तास, १७ हजार ४०० रुपैयाँ नगद तथा प्रदेश २-०२-००४ प ३९९६ नम्बरको स्कुटर र प्रदेश २-०२-००५ प ४६२५ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
कात्तिक २१ गते मध्यराति जनकपुरधाम-९ स्थित काली होटलमा जुवातास खेलिरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । सो क्रममा जनकपुरधाम, महोत्तरी र सर्लाहीका पाँच जना पक्राउ परेका थिए । उनीहरूको साथबाट नेपाली रुपैयाँ ८८ हजार २८०, भारतीय रुपैयाँ १ हजार २००, तासका १३ सेट र छवटा मोबाइल बरामद गरिएको थियो ।
यसैगरी, कात्तिक २३ गते बिहान करिब ५ः३० बजे जनकपुरधाम-१४ रजौलस्थित साजन टेन्ट हाउसमा तास खेलिरहेको अवस्थामा १८ जना पक्राउ परेका थिए । उनीहरूको साथबाट तीन गड्डी तास र नेपाली रुपैयाँ १ लाख ६१ हजार ६४४ बरामद गरिएको प्रहरीले जनाएको छ ।
कात्तिक २४ गते राति करिब १ बजे जनकपुरधाम-२ स्थित सिटी होटलमा तास खेलिरहेको अवस्थामा थप पाँच जना पक्राउ परेका थिए । उनीहरूको साथबाट ६७ हजार ५०० रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ परेका ३७ जनामाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ । चाडपर्वका बेला जुवातास नियन्त्रणका लागि निगरानी र कारबाहीलाई तीव्र बनाइएको भन्दै प्रहरीले यस्तो गतिविधिमा संलग्न नहुन र नगराउन आग्रह गरेको छ ।
जुवाडे छुटाउन टायर बालेर प्रदर्शन
यसैबीच, कात्तिक २३ गते जनकपुरधाम-१४ रजौलस्थित साजन टेन्ट हाउसबाट पक्राउ परेकाहरूलाई रिहा गर्नुपर्ने माग गर्दै स्थानीयवासी तथा उनीहरूका परिवारजनले विरोध प्रदर्शन गरेका छन् ।
उनीहरूले मंगलबार साँझ जनकपुरधाम-९ स्थित थापाचोकमा सडकमा टायर बालेर प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा केही समय सवारी आवागमनसमेत अवरुद्ध भएको थियो ।
प्रहरी प्रवक्ता एवं डीएसपी ओमप्रकाश खनालले पक्राउ परेकाहरूलाई रिहा गर्न दबाब दिने उद्देश्यले स्थानीयवासी तथा परिवारजन आन्दोलनमा उत्रिएको बताए ।











