खयरमारामा भेट्रान्स फुटबल प्रतियोगिता : शुभविहानी फत्तेपुर सप्तरी च्याम्पियन, तीनै विधाका व्यक्तिगत उपाधि पनि हात पार्‍यो


बर्दिबास – बिनय कुमार यादव । महोत्तरीको बर्दिबास नगरपालिका-११ खयरमारामा आयोजित प्रथम भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि शुभविहानी फत्तेपुर भेट्रान्स सप्तरीले जितेको छ ।

खयरमारा युवा क्लबको आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनलमा धनुषा भेट्रान्स बेङ्गडाबारलाई २-० गोल अन्तरले पराजित गर्दै शुभविहानी फत्तेपुर भेट्रान्स सप्तरी च्याम्पियन बनेको हो ।

टिम उपाधिसँगै शुभविहानीले प्रतियोगिताका तीनवटै व्यक्तिगत उत्कृष्ट विधाका पुरस्कारसमेत हात पारेको छ । उसका खेलाडीले गोल्डेन बुट तथा सर्वाधिक गोलकर्ताको उपाधि जित्दा टिमकै गोलरक्षक उत्कृष्ट गोलरक्षक तथा गोल्डेन ग्लोभ्सबाट सम्मानित भएका छन् ।

प्रतियोगिताको विजेता शुभविहानी भेट्रान्सले नगद ७० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता धनुषा भेट्रान्स बेङ्गडाबारले नगद ३५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

बर्दिबास नगरपालिकाका नगरप्रमुख प्रह्लादकुमार क्षेत्रीको प्रमुख आतिथ्यता तथा खयरमारा युवा क्लबका अध्यक्ष भीम थिङको सभापतित्वमा प्रतियोगिताको समापन समारोह सम्पन्न भएको थियो ।

प्रतियोगिताका प्रत्येक खेलको म्यान अफ द म्याच तथा गोल्डेन बुट, गोल्डेन ग्लोभ्स र सर्वाधिक गोलकर्ताका पुरस्कार माउन्ट एभरेष्ट बुद्ध सीता बोर्डिङ स्कुलले नगदसहित प्रायोजन गरेको थियो । प्रतियोगिताको मुख्य प्रायोजक एक्स्टाइल इनर्जी ड्रिंक र सहप्रायोजक सर्वश्रेष्ठ ग्रुप अफ कम्पनी रहेका थिए । प्रतियोगिताको गोलनेपालले प्रत्यक्ष प्रसारण गरेको थियो ।

समापन समारोहमा चर्चित नृत्य कलाकार प्रीति गुरुङ तथा विभिन्न विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक एवं नृत्य प्रस्तुति दिएका थिए ।

प्रतियोगिता सफल बनाउन देश तथा विदेशमा रहेका सहयोगी, समाजसेवी, व्यवसायी, व्यापारी, विभिन्न विद्यालय, स्थानीयवासी, खेलप्रेमी तथा आयोजक र स्वयंसेवकहरूको उल्लेखनीय योगदान रहेको आयोजकले जनाएको छ ।

लक्ष्मीपूजाको अवसरमा शहीद स्मृति खेल मैदानमा आयोजना गरिएको प्रतियोगिताले खयरमाराको खेलकुद क्षेत्रमा नयाँ उत्साह थपेको आयोजकको भनाइ छ । आगामी वर्ष पनि प्रतियोगितालाई निरन्तरता दिने क्लबका अध्यक्ष भीम थिङले बताएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको