मधेस प्रदेशका ४१ स्थानीय तहका अस्पतालमध्ये बर्दिबास अस्पताल प्रथम


बर्दिबास, महोत्तरी – माधव पौडेल । न्यूनतम सेवा मापदण्डको मूल्याङ्कनमा उत्कृष्ट नतिजा हासिल गर्दै महोत्तरीको बर्दिबास नगर अस्पताल मधेस प्रदेशकै प्रथम भएको छ । आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालित स्वास्थ्य सेवा कार्यक्रमहरूको मूल्याङ्कनका आधारमा अस्पतालले प्रथम स्थान हासिल गरेको हो ।

मधेस प्रदेश सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालय, सपही धनुषाले बर्दिबास अस्पताललाई उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै प्रशंसापत्र प्रदान गरेको छ । मधेस प्रदेशका ४१ स्थानीय तहअन्तर्गत सञ्चालित अस्पतालमध्ये बर्दिबास अस्पतालले प्रथम स्थान हासिल गर्न सफल भएको हो ।

अस्पतालले स्वास्थ्य सेवा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्दै निर्धारित सूचकहरूमा उत्कृष्ट नतिजा प्राप्त गरेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेशको समग्र स्वास्थ्य अवस्था सुधारमा पुर्‍याएको योगदानको कदर गर्दै प्रशंसापत्र प्रदान गरिएको हो ।

अस्पतालले उपलब्ध गराएको विवरणअनुसार बर्दिबास नगर अस्पतालले बर्दिबास नगरपालिकाका नागरिकलाई मात्रै नभई आसपासका स्थानीय तह तथा छिमेकी जिल्लाका सेवाग्राहीलाई समेत स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । अस्पतालबाट वार्षिक औसत ४० हजार नागरिकले प्रत्यक्ष रूपमा स्वास्थ्य सेवा लिने गरेका छन् ।

स्वास्थ्य सेवाको गुणस्तर सुधार, व्यवस्थापन, जनशक्ति परिचालन तथा प्रभावकारी सेवा प्रवाहका क्षेत्रमा गरिएको प्रयासको परिणामस्वरूप यो उपलब्धि हासिल भएको अस्पतालले जनाएको छ । यसलाई बर्दिबास नगरपालिकाको स्वास्थ्य क्षेत्रको महत्वपूर्ण सफलताका रूपमा हेरिएको छ ।

स्वास्थ्य निर्देशनालयले आगामी दिनमा पनि गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा प्रवाहलाई निरन्तरता दिन अस्पतालसँग अपेक्षा गरेको छ ।

स्थानीय सरकारको लगानी, अस्पताल व्यवस्थापनको सक्रियता र स्वास्थ्यकर्मीहरूको मेहनतबाट सरकारी स्वास्थ्य संस्थाप्रति नागरिकको विश्वास बढाउन सकिन्छ भन्ने उदाहरण बर्दिबास अस्पतालको उपलब्धिले प्रस्तुत गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको