जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले बालविवाह अन्त्यका लागि कानुनी व्यवस्थासँगै समाजको सोच र व्यवहारमा परिवर्तन आवश्यक रहेको बताउनुभएको छ ।
जनकपुरधाममा मंगलबार आयोजित बालविवाह अन्त्यसम्बन्धी सामुदायिक सचेतना तथा पैरवी कार्यक्रममा उहाँले बालविवाहजस्तो सामाजिक कुरीतिविरुद्ध समुदायस्तरबाटै सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले सडक नाटकसहित विभिन्न माध्यमबाट बालविवाहविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको उल्लेख गर्दै यस्ता अभियानले सामाजिक चेतना अभिवृद्धि गर्न सहयोग पुग्ने बताउनुभयो ।
राष्ट्रिय मानव अधिकार आयोगकी मधेश प्रदेश अधिकृत कुमारी शर्माले बालविवाह राष्ट्रिय समस्याका रूपमा रहेको भन्दै यसको अन्त्यका लागि समुदाय र सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।
जनकपुरधाम उपमहानगरपालिका-१४ का वडाध्यक्ष पूर्णप्रसाद यादवले आफ्नो वडामा हालसम्म सातवटा बालविवाह रोकिएको जानकारी दिनुभयो । उहाँले आगामी दिनमा पनि बालविवाहविरुद्धका सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मुस्लिम महिला कल्याण समाज नेपालकी अध्यक्ष सीमा खानले बालविवाह अन्त्यका लागि सरकारले राष्ट्रिय रणनीति अवलम्बन गरेको उल्लेख गर्दै बालविवाहमुक्त समाज निर्माण गर्न सरकार, स्थानीय तह, नागरिक समाज र समुदायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा प्रस्तुत सडक नाटकमार्फत बालविवाहले किशोरीको शिक्षा, स्वास्थ्य तथा भविष्यमा पार्ने नकारात्मक असरबारे सहभागीलाई जानकारी गराइएको थियो ।











