सिन्धुली । प्रहरीले एक राउण्ड हवाई फायर गरेर ९० दशमलव १६ ग्राम खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ। सुनकोशी गाउँपालिका-१ नेपालथोक क्षेत्रमा शंकास्पद रूपमा मोटरसाइकलमा आएका व्यक्ति भाग्न खोजेपछि प्रहरीले चेतावनीस्वरूप हवाई फायर गरेको हो।
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबास, महोत्तरीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा सोमबार नेपालथोकतर्फ जाँदै गरेको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त कारबाही गरेको जनाएको छ।
पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका-४ का २९ वर्षीय मन्जित योन्जन रहेका छन्। प्रहरीका अनुसार जाँचका क्रममा मोटरसाइकल छाडेर भाग्न खोजेपछि उनलाई नियन्त्रणमा लिन चेतावनीस्वरूप एक राउण्ड हवाई फायर गरिएको थियो।
प्रहरीले योन्जनको साथबाट ९० दशमलव १६० ग्राम खैरो हेरोइन बरामद गरेको जनाएको छ। साथै, प्रदेश नं. ३-०२-००१ प १६२२ नम्बरको मोटरसाइकल र दुई थान मोबाइल फोनसमेत बरामद गरिएको छ।
प्रहरीका अनुसार भारतको जयनगर हुँदै सिरहाको माडर नाकाबाट काठमाडौं उपत्यकासम्म लागुऔषध ल्याई बागमती प्रदेशका सिन्धुपाल्चोक, रामेछाप र दोलखालगायत पहाडी जिल्लाका सहरी क्षेत्रमा बिक्री गर्ने गरेको विशेष सूचना प्राप्त भएको थियो।
पक्राउ परेका योन्जनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय खुर्कोट, सिन्धुलीमा बुझाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।











