बर्दिबासमा सातौँ स्लो बाइक रेस प्रतियोगिता हुँदै


बर्दिबास । बर्दिबास युथ क्लबको आयोजनामा सातौँ स्लो बाइक रेस प्रतियोगिता हुने भएको छ। क्लबले २०७७ सालदेखि निरन्तर आयोजना गर्दै आएको प्रतियोगिताको सातौँ संस्करण आगामी कात्तिक २३ गते बर्दिबासस्थित श्री देउराली माध्यमिक विद्यालयको प्राङ्गणमा हुने भएको हो।

‘स्लो बाइक, लङ लाइफ’ अर्थात् ‘ढिलो सवारी, लामो जीवन’ भन्ने मूल नारासहित आयोजना गर्न लागिएको प्रतियोगिताको मुख्य उद्देश्य सडक सुरक्षा सचेतना अभिवृद्धि गर्नु, तीव्र गति र लापरबाहीका कारण हुने दुर्घटना न्यूनीकरण गर्नु तथा युवामा अनुशासन, संयमता र सुरक्षित सवारी संस्कृतिको विकास गर्नु रहेको क्लबले जनाएको छ।

‘सडकमा गति होइन, सुरक्षा महत्त्वपूर्ण छ, सुरक्षित यात्रा, सुन्दर भविष्य’ भन्ने सन्देशसहित आयोजना हुने प्रतियोगितामा पुरुष तथा महिला दुवै समूहका प्रतिस्पर्धीले सहभागिता जनाउन सक्नेछन्।

प्रतियोगितामा पुरुषतर्फ प्रथम हुनेले २२ हजार २२२ रुपैयाँ, द्वितीयले ११ हजार १११ रुपैयाँ र तृतीयले ५ हजार ५५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, महिलातर्फ प्रथमलाई ११ हजार १११ रुपैयाँ, द्वितीयलाई ५ हजार ५५५ रुपैयाँ र तृतीयलाई २ हजार २२२ रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागी हुन पुरुषका लागि ३०१ रुपैयाँ र महिलाका लागि १०१ रुपैयाँ प्रवेश शुल्क तोकिएको छ। इलेक्ट्रिक बाइक तथा इलेक्ट्रिक स्कुटर (ई–बाइक/ई–स्कुटर) लाई भने प्रतियोगितामा सहभागी गराइने छैन।

बर्दिबास युथ क्लबका अध्यक्ष कृष्ण कार्कीका अनुसार प्रतियोगितामा सहभागी हुने प्रत्येक प्रतिस्पर्धीले अनिवार्य रूपमा सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) प्राप्त गरेको हुनुपर्नेछ। क्लबले प्रतियोगितामा उत्साहजनक सहभागिताका लागि सबै दाजुभाइ तथा दिदीबहिनीलाई आह्वान गरेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको