बर्दिबासमा प्रचण्डको पैदलयात्रा, पार्टी सुदृढीकरणमा जोड


बर्दिबास । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महोत्तरीको बर्दिबासमा राष्ट्रिय जागरण अभियानअन्तर्गत सोमबार पैदलयात्रा गरेका छन्। पार्टी सुदृढीकरण, जनताका गुनासा सुन्ने तथा सङ्गठन विस्तारका लागि अभियान सञ्चालन गरिएको उनले बताएका छन्।

पैदलयात्रामा पार्टीका मधेस संयोजक महेन्द्रप्रसाद यादव, जिल्ला संयोजकसहितका नेता तथा कार्यकर्ताको सहभागिता थियो। बर्दिबासमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले लोकतन्त्र र जनअधिकारको रक्षा, राष्ट्रिय स्वाधीनता, पार्टी समायोजन, सदस्यता नवीकरण तथा सङ्गठन सुदृढीकरणका लागि राष्ट्रिय जागरण अभियान सञ्चालन गरिएको बताए।

कात्तिक ७ गतेदेखि सुरु भएको अभियानको केही दिनमै समीक्षा गरी आगामी चरणको कार्यदिशा तय गरिने उनले जानकारी दिए। बर्दिबासमा स्थानीयवासीले देखाएको उत्साहप्रति उनले धन्यवादसमेत व्यक्त गरे।

मधेस प्रदेशका केन्द्रीय सदस्यका लागि आयोजित प्रशिक्षण कार्यक्रममा सहभागी हुन महोत्तरी आएका प्रचण्डले पार्टीका नेता-कार्यकर्ताबीच उद्देश्य, एकता र सद्भाव एउटै हुनुपर्नेमा जोड दिए। उनले तिहारको अवसरमा सबैलाई शुभकामनासमेत दिए।

सञ्चारकर्मीले वर्तमान सरकारको कार्यशैलीबारे सोधेको प्रश्नमा प्रचण्डले सरकारको कामबारे जनताले नै मूल्याङ्कन गर्ने बताए। उनले बौद्धिक समुदायले सरकारको कार्यशैली बुझिसकेको दाबी गर्दै गाउँ–गाउँ पुगेर जनतालाई त्यसबारे जानकारी गराउने बताए।

नेकपा र एमालेबीच सहकार्यको सम्भावनाबारे सोधिएको प्रश्नमा प्रचण्डले अहिले उक्त विषयमा प्रवेश नगरिएको र तत्काल सहकार्य सम्भव नभएको प्रतिक्रिया दिए।

यसैबीच, प्रचण्डसहितका नेताले महोत्तरीको सम्सी गाउँपालिकामा कार्यकर्ता तथा स्थानीयसँग भेटघाट गरेका छन्। सम्सी गाउँपालिका–६ का वडाध्यक्ष शेष उमैरको निवासमा आयोजित कार्यक्रममा प्रचण्डसहित मातृका यादव, भरत साह, महेन्द्रप्रसाद यादव, मधेस प्रदेश कमिटी सदस्य अरविन्द दास, लालिन्द्र मण्डल तथा प्रदेशसभा सदस्य रजि हैदरसहितका नेताको सहभागिता थियो।

भेटघाटका क्रममा प्रचण्डले आगामी स्थानीय तहको निर्वाचनका लागि नेता तथा कार्यकर्तालाई एकजुट भएर तयारीमा जुट्न आग्रह गरे। पार्टीले अध्यक्ष पदका लागि सिफारिस गरेका उम्मेदवारलाई विजयी गराउन सबै एकताबद्ध भएर लाग्नुपर्नेमा उनले जोड दिए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको