स्वास्थ्य केन्द्र उद्घाटन विवादमा बारामा गोली चल्यो, एक युवक घाइते


बारा । स्वास्थ्य केन्द्र उद्घाटनका विषयमा भएको विवाद उग्र भएपछि बाराको फेटामा प्रहरीले गोली चलाएको बताइएको छ। गोली लागेर एक युवक घाइते भएका छन्।

फेटा गाउँपालिका-३ मा संघीय सरकारको लगानीमा निर्माण भएको स्वास्थ्य केन्द्र उद्घाटनका लागि गाउँपालिकाले शनिबार बिहान कार्यक्रम आयोजना गरेको थियो। उद्घाटनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ समीक्षा बास्कोटा पनि बारा पुगेकी थिइन्।

गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीको विपक्षमा रहेका स्थानीयले स्वास्थ्य केन्द्र परिसरमा राखिएको शिलालेख तोडफोड गरेपछि विवाद चर्किएको थियो। अन्सारी पक्षधर र विपक्षी स्थानीयबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको बताइएको छ।

गोली लागेर घाइते भएका युवकको पहिचान खुल्न सकेको छैन। उनको अवस्था र गोली कहाँ लागेको भन्नेबारे थप विवरण आउन बाँकी छ।

यद्यपि, प्रहरीले गोली चलाएको घटनाबारे औपचारिक रूपमा पुष्टि गरेको छैन। इलाका प्रहरी कार्यालय सिमराबाट थप मद्दतका लागि घटनास्थल पुगेका डीएसपी दयाकृष्ण भट्टले स्थिति साम्य बनाउन प्रहरीले प्रयास गरिरहेको बताए।

तत्कालीन विवेकशील नेपाली पार्टीबाट निर्वाचित गाउँपालिका अध्यक्ष अन्सारीविरुद्ध स्थानीयको एउटा समूहले स्वास्थ्य संस्था उद्घाटनमा अवरोध गरेपछि विवाद सुरु भएको थियो।

अध्यक्ष अन्सारीले आफ्नो विरोधमा एमालेका कार्यकर्ता उत्रिएको दाबी गरेका छन्। उनले पूर्वगाउँपालिका अध्यक्ष अमिरिलाल पालको निर्देशनमा घटना भएको आरोप लगाएका छन्।

घटनाको वास्तविक अवस्था र गोली चलाउनु परेको कारणबारे प्रहरीले औपचारिक विवरण सार्वजनिक गर्न बाँकी छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको