समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकार नियन्त्रणमा लिएपछि प्रेस काउन्सिलको आपत्ति


काठमाडौं । सरकारी कार्यालय समय सकिएपछि विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरी सादा पोशाकका प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको घटनाप्रति प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण जनाएको छ।

काउन्सिलले शुक्रबार विज्ञप्ति जारी गर्दै पक्राउको स्पष्ट कारण नखुलाइएको, पक्राउ पुर्जी नदेखाइएको तथा अदालतको अनुमति लिइएको नदेखिएको अवस्थामा पत्रकारलाई नियन्त्रणमा लिइनु गम्भीर आपत्तिको विषय भएको जनाएको हो।

लगातार दुई दिन सार्वजनिक बिदा पर्नुअघि यसरी पत्रकारलाई नियन्त्रणमा लिनुले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको काउन्सिलको भनाइ छ।

‘प्रहरी प्रधान कार्यालयबाट जारी विज्ञप्तिको पृष्ठभूमिमा भएको यस घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ,’ काउन्सिलले विज्ञप्तिमा भनेको छ।

सञ्चारमाध्यममा प्रकाशित समाचार सामग्रीप्रति असहमति वा पत्रकार आचारसंहितासम्बन्धी उजुरी भए त्यसको छानबिन, अनुगमन र निरूपण गर्ने कानुनी जिम्मेवारी प्रेस काउन्सिल नेपालको रहेको काउन्सिलले स्पष्ट पारेको छ।

समाचारकै विषयमा सिधै प्रहरी परिचालन गर्नुभन्दा काउन्सिलको स्थापित विधि र प्रक्रियामार्फत समाधान खोज्न नेपाल सरकार, प्रहरी प्रशासन तथा सम्बन्धित सबै पक्षलाई काउन्सिलले आग्रह गरेको छ।

काउन्सिलले नियन्त्रणमा लिइएका पत्रकारको अवस्था र पक्राउको कानुनी आधार तत्काल सार्वजनिक गर्न पनि माग गरेको छ। कानुनी आधारबिना नियन्त्रणमा राखिएको भए तत्काल रिहा गर्नसमेत आग्रह गरेको छ।

साथै, पत्रकार तथा सञ्चारमाध्यमलाई सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्दै पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न काउन्सिलले अनुरोध गरेको छ। प्रेस स्वतन्त्रताको संरक्षण र मर्यादित पत्रकारिताको संवर्द्धनका लागि काउन्सिल सदैव प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।

यसैबीच, शुक्रबार नेपाल प्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदी, डीएनखबरका पत्रकार धीरज बस्नेत र मोटिभेट न्युजका पत्रकार शोभराज बराललाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ।

यस्तै, नयाँ पत्रिका दैनिकमा कार्यरत पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन भन्दै सादा पोशाकमा खटिएका प्रहरीहरू नयाँ पत्रिकाको कार्यालयमै प्रवेश गरेका छन्। उनीहरूले मैनालीलाई नलगी नजाने भन्दै कार्यालयमै बसेको जनाइएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको