बर्दिबास, महोत्तरी । बर्दिबास साहित्यिक-सांस्कृतिक प्रतिष्ठानको ८५औँ नियमित साहित्यिक शृङ्खला शनिबार सम्पन्न भएको छ।
२०८३ साल कात्तिक १४ गते प्रतिष्ठानकी अध्यक्ष यशोदा श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा साहित्यकार, स्रष्टा, साहित्यप्रेमी तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।
प्रतिष्ठानका सचिव पवनकुमार वाग्लेले सञ्चालन गरेको कार्यक्रममा प्रतिष्ठानका सदस्य जीवनस्पर्शीले उपस्थित अतिथि तथा सहभागीहरूलाई स्वागत मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा सिस्नुपानी नेपाल महोत्तरीका अध्यक्ष नारदप्रसाद काफ्ले, बुढ्यौली साहित्य समाज महोत्तरीका सचिव सुदर्शन भट्टराई, प्रगतिशील लेखक सङ्घ (प्रलेस) नेपालका केन्द्रीय सदस्य विमला विश्वकर्मा, सप्तकविन्द्र शिक्षा निकेतन बर्दिबास–१४ का संस्थापक गङ्गा थापा, साहित्य अनुरागी नवलकिशोर महतो, बुढ्यौली साहित्य समाज मधेस प्रदेशका सचिव तथा प्रलेस नेपाल महोत्तरीका अध्यक्ष रामचन्द्र पौडेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा विभिन्न विधा र लयका साहित्यिक रचना वाचन गरिएको थियो। रचना वाचन गर्नेहरूमा साजेस महतो, नवलकिशोर महतो, जीवनस्पर्शी, शिवानी साह, सुवर्णलाल सिंह पकर, आस्तिका यादव, सुमिक्षा मगर, आरुषी महतो, उत्प्रेरणा भट्टराई, मोनिका महतो, ईश्वरी पौडेल, विमला विश्वकर्मा, सुदर्शन भट्टराई, विपुल विद्रोही, पवन वाग्ले, रविन आले मगर र यशोदा श्रेष्ठलगायत रहेका थिए।
कार्यक्रमको अन्त्यमा सभाध्यक्ष श्रेष्ठले ८५औँ साहित्यिक शृङ्खलामा सहभागी सम्पूर्ण अतिथि, स्रष्टा तथा साहित्यप्रेमीप्रति आभार व्यक्त गरिन्। उनले आगामी दिनमा पनि प्रतिष्ठानका गतिविधिमा सबैको साथ र सहयोग निरन्तर रहने विश्वास व्यक्त गरिन्।
कार्यक्रम सञ्चालनका लागि सभाहल उपलब्ध गराउनुका साथै शिक्षक तथा विद्यार्थीहरूलाई सहभागी गराउन सहयोग गरेकोमा सप्तकविन्द्र शिक्षा निकेतन बर्दिबास-१४ का संस्थापक प्रिन्सिपल नागेन्द्र क्याप्छाकी तथा विद्यालय परिवारप्रति पनि उनले विशेष धन्यवाद व्यक्त गरिन्।
साहित्यिक सिर्जना, रचना वाचन र स्रष्टाहरूबीचको आपसी भेटघाटमार्फत भाषा, साहित्य तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले प्रतिष्ठानले नियमित रूपमा साहित्यिक शृङ्खला सञ्चालन गर्दै आएको छ।











