रौतहट । रौतहटको सीमावर्ती क्षेत्रमा प्रहरीले गरेको सवारी जाँचका क्रममा स्रोत नखुलेको १० लाख रुपैयाँ नगद बरामद गरेको छ। बौधिमाई नगरपालिका-७ बंकुलस्थित सडकमा जाँच गर्ने क्रममा भारतीय नागरिकको साथबाट रकम बरामद भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा भारतको बिहारस्थित मोतिहारी जिल्ला, घोडासहन गाउँका करिब ३३ वर्षीय टुना दास रहेका छन्।
सोमबार दिउँसो बंकुल प्रहरी चौकीबाट खटिएको टोलीले बंकुल-नरकटिया सडकखण्डमा सवारीसाधन जाँच गरिरहेको थियो। सोही क्रममा बाराबाट रौतहटतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको बीआर ०५ एएफ ३७८७ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा लुकाइएको अवस्थामा नगद रकम फेला परेको प्रहरीले जनाएको छ।
बरामद रकममा एक हजार रुपैयाँ दरका ५९३ थान र पाँच सय रुपैयाँ दरका ८१४ थान नोट रहेका छन्। बरामद नगदको कुल रकम १० लाख रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
रकमको स्रोत र प्रयोजन नखुलेपछि प्रहरीले दासलाई नगदसहित नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। बरामद रकम कहाँबाट ल्याइएको हो र कहाँ लैजान लागिएको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमले घटनाबारे पुष्टि गर्दै बरामद नगदको स्रोत पहिचान गर्न तथा घटनाको थप विवरण खुलाउन अनुसन्धान भइरहेको जानकारी दिए।











