बर्दिबास । बर्दिबास नगरभित्र आर्थिक अवस्था कमजोर भएका, अध्ययनमा लगनशील तथा जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षाको अवसर प्रदान गर्ने उद्देश्यले पदम शम्शेर खड्का स्मृति प्रतिष्ठानद्वारा शैक्षिक सत्र २०८३/०८४ का लागि आयोजित छात्रवृत्ति छनोट परीक्षा सम्पन्न भएको छ ।
बर्दिबास नगरपालिका क्षेत्रभित्र कक्षा ११ र १२ सञ्चालन भइरहेका प्रायः सबै सामुदायिक विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको उक्त परीक्षामा कुल ६० जना विद्यार्थी सहभागी भएका थिए । हिजो देउराली माध्यमिक विद्यालय बर्दिबासमा बिहान १०:३० बजेदेखि सञ्चालन भएको परीक्षामा विद्यार्थीहरूले उत्साह, अनुशासन र आत्मविश्वासका साथ सहभागिता जनाएका थिए । परीक्षा व्यवस्थित तथा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको थियो ।
होटल विनायक प्रा.लि.द्वारा स्थापित पदम शम्शेर खड्का स्मृति प्रतिष्ठानले २०७७ सालदेखि शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । विशेषगरी आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्न कठिनाइ भोगिरहेका तर पढाइमा लगनशील तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरी उनीहरूको शैक्षिक यात्रामा सहयोग पुर्याउने उद्देश्यले प्रतिष्ठानले प्रत्येक वर्ष छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्दै आएको हो ।
छात्रवृत्ति छनोट प्रक्रियाअन्तर्गत परीक्षामा उत्तीर्ण हुने विद्यार्थीहरूको घरमै पुगेर स्थलगत निरीक्षण (होम भिजिट) गरिने प्रतिष्ठानले जनाएको छ । होम भिजिटका क्रममा विद्यार्थीको पारिवारिक अवस्था, आर्थिक स्थिति तथा वास्तविक आवश्यकताको मूल्याङ्कन गरी आर्थिक अवस्था कमजोर भएका योग्य विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ । त्यसैगरी आर्थिक अवस्था कमजोर नभए पनि शैक्षिक रूपमा उत्कृष्ट प्रदर्शन गर्ने एक जना छात्र र एक जना छात्रा गरी थप दुई जना जेहेन्दार विद्यार्थीलाई समेत छात्रवृत्ति प्रदान गरिनेछ ।
प्रतिष्ठानका अध्यक्ष विष्णुबहादुर खड्काको नेतृत्वमा विगत केहि वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको यो शैक्षिक सहयोग अभियान बर्दिबासको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने सामाजिक प्रयासका रूपमा अघि बढिरहेको छ ।
आर्थिक अभावकै कारण कुनै पनि विद्यार्थी शिक्षाबाट वञ्चित हुन नपरोस् र प्रतिभावान् विद्यार्थीले आफ्नो क्षमता तथा योग्यताअनुसार उच्च शिक्षा हासिल गर्ने अवसर पाऊन् भन्ने उद्देश्यका साथ प्रतिष्ठानले सञ्चालन गर्दै आएको यस अभियानले विद्यार्थीको भविष्य निर्माणमा सहयोग पुर्याउनुका साथै शिक्षा क्षेत्रमा सामाजिक उत्तरदायित्वको महत्वपूर्ण उदाहरण प्रस्तुत गरेको छ ।













