दिदीबहिनीको हातबाट टीका ग्रहण गर्दै आज भाइटीका मनाइँदै


काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन आज दिदीबहिनीको हातबाट टीका ग्रहण गर्दै भाइटीका पर्व मनाइँदैछ। प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने यस पर्वलाई ‘यमद्वितीया’ पनि भनिन्छ।

यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, आरोग्य र समृद्धिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिने चलन छ। दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिने तथा गच्छेअनुसार उपहार वा दक्षिणा दिएर सम्मान प्रकट गर्ने परम्परा छ।

भाइटीका आज दिनभर लगाउन सकिने भए पनि शुभसाइत खोज्नेहरूका लागि बिहान ११ बजेर ७ मिनेटको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार सर्वसाधारणका लागि आज दिनभर टीका लगाउन कुनै बाधा छैन। तर, राज्य सञ्चालकले भने शुभसाइतमै टीका लगाउनुपर्ने शास्त्रीय मान्यता रहेको उहाँले बताउनुभयो।

टीका लगाउँदा कुन दिशा फर्कने ?

यस वर्ष टीका लगाइदिने दिदीबहिनी पूर्व र टीका लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ। यसो गर्दा वृश्चिक राशिमा रहेका चन्द्रमा दाहिने पर्नेछन्। शुभकार्य गर्दा चन्द्रमालाई अगाडि वा दाहिने पार्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले बताउनुभयो।

भाइटीकाका दिन दियो, कलश र गणेशको पूजा गर्दै अष्टचिरञ्जीवी (मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम) का साथै यमराज र यमुनाको पूजा-आराधना गरिन्छ।

दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर मखमली, सयपत्री र गोदावरीका माला लगाइदिने तथा ओखर, कटुस, मरमसला र सेलरोटीलगायतका परिकार दिने चलन छ।

(राससको सहयोगमा)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको