वीरगन्ज । छठपर्वका लागि नेपालमै प्रसिद्ध वीरगन्जस्थित घडीअर्वा पोखरी छठघाटको सम्पूर्ण तयारी पूरा भएको छ ।
छठपूजा व्यवस्थापन समितिले शनिबार साँझ पत्रकार सम्मेलन गरी छठघाटको सजावट तथा व्यवस्थापनका सबै काम सम्पन्न भएको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा समितिका कोषाध्यक्ष कन्हैयालाल गुप्ताले यस वर्ष छठघाटको सजावट तथा व्यवस्थापनमा करिब २७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको बताए ।
उनका अनुसार टेन्ट तथा पण्डाल सजावटमा १२ लाख ५१ हजार, भिडियो ग्राफीमा ६२ हजार, पुरस्कारमा ७ लाख ५० हजार, सरसफाइमा १ लाख १ हजार र सुरक्षा व्यवस्थापनमा ६० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
सुरक्षा उपसमितिका संयोजक मुन्ना साहका अनुसार व्रतालु, दर्शनार्थी तथा भक्तजनको सुरक्षालाई ध्यानमा राख्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरी १०० जना सुरक्षाकर्मी परिचालन गरिनेछ । त्यसैगरी घडीअर्वा स्पोर्ट्स क्लबका ५५ जना स्वयंसेवक पनि खटिनेछन् ।
छठघाट परिसरभित्र २१ वटा र बाहिर १६ वटा गरी कुल ३७ वटा सीसीटीभी क्यामेरा जडान गरिएको साहले जानकारी दिए । सुरक्षा व्यवस्थाका लागि सादा पोसाकमा समेत प्रहरी परिचालन गरिने उनले बताए ।
त्यस्तै, छठघाट परिसरमै प्राथमिक उपचार सेवा केन्द्र स्थापना गरिनुका साथै एम्बुलेन्स र दमकल २४सै घण्टा तयारी अवस्थामा राखिने प्रचारप्रसार उपसमितिका संयोजक प्रणय साहले जानकारी दिए ।
उनका अनुसार आइतबार साँझको अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिने समयमा गरी घडीअर्वा छठघाटमा १ लाख ५० हजारभन्दा बढी व्रतालु तथा दर्शनार्थी आउने अनुमान गरिएको छ ।











