काठमाडौं, साउन ६ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिन प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बोलाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदबाट विश्वासको मत लिँदैछन् ।
कांग्रेसको समर्थनमा एमाले अध्यक्ष समेत रहेका ओली असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
२ सय ७५ सदस्यीय प्रतिनिधिसभाको विश्वास जित्न प्रधानमन्त्री ओलीले कम्तिमा १३८ सांसदको समर्थन पाउनुपर्छ। नेकपा एमालेले यसअघि नै प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्वीप जारी गरिसकेको छ ।
प्रधानमन्त्रीमाथि विश्वासको मत लिने विषयमा निर्णय गर्न प्रतिनिधिसभाको बैठकअघि कांग्रेस संसदीय दलको बैठक बस्दैछ ।
सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा उनी प्रधानमन्त्री बनेपछि ओलीलाई विश्वास दिलाउन कांग्रेसका ८८ र एमालेका ७९ सांसदको समर्थन मात्र पर्याप्त छ ।
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० पनि सरकारमा रहेकाले प्रधानमन्त्री ओलीले ती दलबाट पनि विश्वासको मत लिनेछन् ।
कांग्रेसका ८८, एमालेका ७९, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, नेकपा (एकीकृत समाजवादी)का १०, जसपाका ७, जनमतका ६, जसपा नेपालका ५, लोस्पाका ४, नेमकिपा, जनमोर्चा र आम जनता पार्टी १र१ व्यक्ति र दुई स्वतन्त्र सांसद छन्।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने निर्णय गरेको छ ।










