प्रमोद खरेलको लाइभ प्रस्तुति सहित नयाँ वर्ष उत्सव गौतम होटलमा


१४ पुस, बर्दिवास – जीवनराज दाहाल। अङ्ग्रेजी नयाँ वर्ष २०२६ लाई विशेष बनाउने उद्देश्यसहित धनुषाको लालगढस्थित गौतम होटलले भव्य सांस्कृतिक महोत्सव आयोजना गर्ने भएको छ। संस्कृति, संगीत र पर्यटन एक–आपसमा जोडिएका छन् भन्ने सन्देश बोकेको यो उत्सवले नयाँ वर्षको स्वागतलाई स्मरणीय बनाउने लक्ष्य लिएको छ।

नयाँ वर्षको अवसरमा आयोजना हुने कार्यक्रममा सुप्रसिद्ध गायक प्रमोद खरेल र उहाँको लोकप्रिय ब्याण्ड “परम्परा” ले प्रत्यक्ष (लाइभ) सांगीतिक प्रस्तुति दिनेछन् । कार्यक्रम सञ्चालनको जिम्मा चर्चित सञ्चालिका शोभा त्रिपाठीले सम्हाल्नेछिन् भने कृष्ण क्षेत्रीको मधुर संगीतले दर्शकलाई अझ रोमाञ्चित बनाउनेछ । यसका साथै अन्य चर्चित कलाकारहरूको सहभागितामा नेपाली मौलिकता, परम्परा र सांस्कृतिक पहिचान झल्किने विविध प्रस्तुति समावेश गरिने आयोजकले जनाएको छ।

निजी क्षेत्रको पहलमा आयोजना हुन लागेको यस महोत्सवलाई मनोरञ्जनमा मात्र सीमित नराखी पर्यटन प्रवर्द्धनको प्रभावकारी माध्यमका रूपमा अघि बढाइने लक्ष्य लिइएको छ। नयाँ वर्षको अवसरमा नेपालका विभिन्न जिल्लाका साथै भारतको बिहार राज्य अन्तर्गत सीतामढी, मधुबनी, दरभंगा, जयनगरलगायत क्षेत्रबाट उल्लेख्य सङ्ख्यामा पर्यटक आगमन हुने अपेक्षा गरिएको छ।

यसले स्थानीय होटल, व्यवसाय तथा आतिथ्य क्षेत्रलाई थप चलायमान बनाउने विश्वास गरिएको छ। महोत्सवको अर्को विशेष आकर्षणका रूपमा मधेस प्रदेशको पहिचान बोकेका परम्परागत तथा स्वादिष्ट परिकारहरू प्रस्तुत गरिनेछन्।

गौतम होटलका सञ्चालक हिरा गौतमका अनुसार, “कलैयाको सेकुवा, रौतहटको कटिया, जनकपुरको ललन माछा, बरमझिया (सप्तरी) को पेडा, कठाल (धनुषा)को दहीलगायत मधेसका विभिन्न स्थानका चर्चित मिष्ठान्न परिकारको स्वाद चखाएर अतिथिलाई अविस्मरणीय अनुभूति गराउने हाम्रो प्रयास हो।”

कार्यक्रममा सहभागी हुन इच्छुकका लागि तीन तहको टिकट व्यवस्था गरिएको छ। पहिलो तहको टिकट शुल्क रु. ५,०००, दोस्रो तहको रु. ३,५०० र तेस्रो तहको रु. २,५०० तोकिएको छ। उक्त टिकटमा कार्यक्रम अवलोकनका साथै तोकिएको प्याकेजअनुसार खाना, स्न्याक्स तथा ड्रिङ्क्सको व्यवस्था समेत समावेश गरिएको आयोजकले जानकारी दिएको छ।

विशेष फुड स्टलमार्फत आगन्तुकलाई मधेसको मौलिक स्वाद र संस्कृतिसँग प्रत्यक्ष साक्षात्कार गराउने उद्देश्य लिइएको छ। संगीत, संस्कृति र स्वादको त्रिवेणीसँगै नयाँ वर्ष स्वागत गर्ने यस अवसरमा सहभागी भई उत्सवलाई सफल बनाउन गौतम होटल परिवारले सबैलाई हार्दिक आमन्त्रण गरेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको