जनता माध्यमिक विद्यालयमा पूर्वविद्यार्थी मञ्च गठन गर्ने तयारी, मंसिर १९ गते पुनर्मिलन भेला


बर्दिबास । जनता माध्यमिक विद्यालय बर्दिबास-२ मा अध्ययन गरी विभिन्न क्षेत्रमा पुगेका पूर्वविद्यार्थीहरूलाई एकत्रित गर्दै पूर्वविद्यार्थी मञ्च गठन गर्ने तयारी गरिएको छ । विद्यालयको शैक्षिक विकासमा पूर्वविद्यार्थीहरूको सहभागिता बढाउने तथा उनीहरूबीच आपसी सम्बन्ध पुनःस्थापित गर्ने उद्देश्यले मञ्च गठन गर्न लागिएको हो ।

विद्यालयमा एसएलसी तथा कक्षा १२ उत्तीर्ण गरी देश तथा विदेशका विभिन्न क्षेत्रमा रहेका पूर्वविद्यार्थीहरूलाई एकै ठाउँमा जोड्ने अभियान विद्यालयले विद्यार्थीहरूको आग्रहमा सुरु गरेको जनाएको छ । सोही अभियान अन्तर्गत आगामी मंसिर १९ गते शनिबार बिहान ११ बजे पूर्वविद्यार्थी पुनर्मिलन भेला आयोजना गर्ने तयारी गरिएको छ ।

पूर्वविद्यार्थी तथा बर्दिबास नगरपालिका-२ का वडाध्यक्ष धिरेन्द्र सिंहले विद्यालयमा अध्ययन गरी विभिन्न पेसा, व्यवसाय तथा क्षेत्रमा स्थापित भएका अग्रज व्यक्तित्वहरूलाई एकत्रित गरी पूर्वविद्यार्थी मञ्च गठन गर्ने उद्देश्यले पुनर्मिलन कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

विद्यालयका प्रधानाध्यापक तोपबहादुर ठकुरीका अनुसार पूर्वविद्यार्थी मञ्च गठनका सातवटा मुख्य उद्देश्य तय गरिएको छ । विद्यालयबाट प्रारम्भिक शिक्षा प्राप्त गरेका पूर्वविद्यार्थीबीच मित्रवत् सम्बन्धको नवीकरण गर्ने, आफूलाई ज्ञान प्रदान गर्ने संस्थाप्रति सहयोग र सद्भावको भावना विकास गर्ने तथा पूर्वविद्यार्थीको ज्ञान, सीप र अनुभवलाई विद्यालयको शैक्षिक आवश्यकतासँग जोड्ने मञ्चका प्रमुख उद्देश्य रहेका छन् ।

त्यस्तै, विद्यालयलाई दलीय स्वार्थभन्दा माथि उठाएर सबै समुदायको साझा चौतारीका रूपमा विकास गर्ने, शैक्षिक उन्नयनमा योगदान गर्न चाहने दाताहरूलाई विद्यालयको अभिन्न साझेदार बनाउने तथा विद्यालयको समग्र विकासमा पूर्वविद्यार्थीमार्फत रचनात्मक सुझाव, सल्लाह र सहयोग जुटाउने लक्ष्यसमेत राखिएको प्रधानाध्यापक ठकुरीले बताउनुभयो ।

विद्यालय शिक्षालाई प्रविधिको बदलिँदो युगअनुकूल बनाउन देश तथा विदेशमा रहेका पूर्वविद्यार्थीहरूको ज्ञान, सीप र अनुभव उपयोग गर्ने, विद्यालयको शैक्षिक सुधारका लागि भावी योजना निर्माणमा सरकारी तथा गैरसरकारी निकायबाट सहयोग र पृष्ठपोषण प्राप्त गर्ने अपेक्षा पनि मञ्च गठनबाट गरिएको छ ।

पूर्वविद्यार्थीहरूको पुनर्मिलनसँगै विद्यालयको शैक्षिक तथा संस्थागत विकासमा सहकार्यको नयाँ आधार तयार हुने आयोजकले विश्वास व्यक्त गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको