काठमाडौं । टकनेपालटिभी डटकमले “‘न्युज हटाउ’ दबाबसँगै पत्रकारलाई धम्की, छानबिनको माग” शीर्षकमा प्रकाशित समाचारबारे खण्डन तथा स्पष्टिकरण जारी गर्दै समाचारको उद्देश्य पत्रकारमाथि भएको दबाब र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपबारे सार्वजनिक सरोकारको विषय उठाउनु रहेको जनाएको छ ।
प्रेस काउन्सिल नेपालको निर्देशन तथा प्राप्त उजुरीपछि सार्वजनिक गरिएको स्पष्टिकरणमा टक नेपाल टिभीले पत्रकार ललन मण्डलमाथि समाचार हटाउन दिइएको दबाब, धम्कीपूर्ण भाषा तथा त्यसबाट सिर्जित मानसिक त्रासलाई आधार मानी समाचार सम्प्रेषण गरिएको उल्लेख गरेको छ ।
टक नेपाल टिभीका अनुसार सुरक्षित रहेको अडियो संवादमा समाचार हटाउन दबाब दिइएको र आक्रामक शैलीमा संवाद गरिएको देखिन्छ । अडियोमा “तपाईंलाई जहाँ भेटेँ भने मुख सुख फुटाइदिन्छु, यदि फुटाउन सकिएन भने म कौशल महतो होइन” भन्ने अभिव्यक्ति प्रयोग भएको उल्लेख गर्दै सञ्चारमाध्यमले त्यसले पत्रकारमाथि त्रास र दबाब सिर्जना गरेको जनाएको छ ।
सञ्चारमाध्यमले पत्रकारले आफ्नो पेशागत जिम्मेवारी निर्वाह गरिरहेको अवस्थामा समाचार हटाउन दबाब दिनु र धम्कीपूर्ण शैलीमा संवाद गर्नु प्रेस स्वतन्त्रता तथा पत्रकार सुरक्षासँग जोडिएको विषय भएकाले समाचार सम्प्रेषण गरिएको स्पष्ट पारेको छ ।
यद्यपि, समाचारमा प्रयोग गरिएको “ज्यान मार्ने धम्की” भन्ने शब्दप्रयोगबारे पुनरावलोकन गर्दा अडियोमा प्रत्यक्ष रूपमा त्यस्तो अभिव्यक्ति पुष्टि हुन नसकेको टक नेपाल टिभीले स्वीकार गरेको छ । नेपाल पत्रकार महासंघ महोत्तरी शाखाद्वारा गठित छानबिन टोलीले समेत उक्त शब्दप्रयोगबारे टिप्पणी उठाएको विषयलाई गम्भीर रूपमा लिइएको जनाइएको छ ।
यसैबीच, ईलाका प्रहरी कार्यालय बर्दिबासमा दुई पक्षबीच भएको मिलापत्रमा पत्रकार ललन मण्डल आर्थिक लेनदेनको विषयमा संलग्न नरहेको तथा आगामी दिनमा आर्थिक विषयमा पत्रकारसँग कुनै वार्तालाप नगर्ने सहमति भएको उल्लेख गरिएको छ । साथै, टक नेपाल टिभीले समाचारको खण्डन तथा स्पष्टिकरण प्रकाशित गर्ने सहमति समेत भएको बताइएको छ ।
टक नेपाल टिभीले कुनै पनि समाचार सम्प्रेषणको उद्देश्य कसैको व्यक्तिगत प्रतिष्ठामा आँच पु¥याउनु नभई सत्य तथ्यलाई सार्वजनिक गर्नु र प्रेस स्वतन्त्रताको पक्षमा उभिनु रहेको स्पष्ट पारेको छ । साथै आगामी दिनमा तथ्य पुष्टि, भाषिक सन्तुलन तथा शब्द चयनमा अझ बढी सावधानी अपनाइने प्रतिबद्धता समेत जनाएको छ ।









