मधेसमा ९ अर्ब सहुलियतपूर्ण कर्जा प्रवाह


जनकपुरधाम । बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८२/८३ मा मधेस प्रदेशका आठ जिल्लामा ८ अर्ब ९९ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाह गरेका छन्। नेपाल राष्ट्र बैंकको अध्ययन प्रतिवेदनअनुसार सहुलियतपूर्ण कर्जा प्रवाहमध्ये सबैभन्दा बढी धनुषामा र सबैभन्दा कम सप्तरीमा भएको छ।

प्रतिवेदनअनुसार धनुषामा १ अर्ब २ करोड रुपैयाँ अर्थात् १६.५४ प्रतिशत सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ। सप्तरीमा भने ३० करोड रुपैयाँ अर्थात् ४.८७ प्रतिशत कर्जा प्रवाह भएको छ।

आर्थिक वर्ष २०८२/८३ मा मधेस प्रदेशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा कृषि, वन तथा मत्स्य क्षेत्रको योगदान सबैभन्दा बढी ३४.९७ प्रतिशत रहने अनुमान गरिएको छ। खानी तथा उत्खनन क्षेत्रको योगदान भने सबैभन्दा कम ०.१४ प्रतिशत रहने अनुमान छ। सो अवधिमा प्रदेशको प्रतिव्यक्ति जीडीपी ९३४ अमेरिकी डलर रहने अनुमान गरिएको छ।

राष्ट्र बैंकका अनुसार मधेसमा फलफूल खेतीले ओगटेको क्षेत्रफल ३३.९९ प्रतिशत र मसला बालीको क्षेत्रफल ४.४६ प्रतिशतले वृद्धि भएको छ। खाद्य तथा अन्य बालीको क्षेत्रफल ४.४७ प्रतिशत तथा तरकारी र बागवानीको क्षेत्रफल १०.१५ प्रतिशतले घटेको छ।

उत्पादनतर्फ तरकारी तथा बागवानी ०.५४ प्रतिशत र फलफूल ४.९९ प्रतिशतले बढेको छ। खाद्य तथा अन्य बालीको उत्पादन ५.६९ प्रतिशत र मसला उत्पादन ४.४४ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ।

पशुजन्य उत्पादनतर्फ मासु र अन्डाको उत्पादन क्रमशः १०.१९ प्रतिशत र ३.११ प्रतिशतले बढेको छ भने दूध उत्पादन २.६७ प्रतिशतले घटेको छ। माछा उत्पादन ५.०५ प्रतिशतले बढेको छ। वनजन्य उत्पादनतर्फ काठ उत्पादन ६०.५८ प्रतिशत र दाउरा उत्पादन ७८.६२ प्रतिशतले वृद्धि भएको छ।

२०८३ असार मसान्तसम्म मधेस प्रदेशमा रहेका बैंक तथा वित्तीय संस्थाबाट कृषि, माछापालन र वन क्षेत्रमा ५९ अर्ब ८६ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ। यो प्रदेशमा प्रवाह भएको कुल कर्जाको १२.१० प्रतिशत हो।

राष्ट्र बैंकको अध्ययनमा समेटिएका प्रमुख उद्योगको उत्पादन क्षमता उपयोग भारित औसतमा ६४.५९ प्रतिशत रहेको छ। गत आव औद्योगिक क्षेत्रमा प्रवाह भएको कुल कर्जा ०.६८ प्रतिशतले बढेर १ खर्ब २८ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आव यस्तो कर्जा १ खर्ब २८ अर्ब ९ करोड रुपैयाँ थियो।

मधेस प्रदेशमा १ लाख १६ हजार २०७ वटा घरजग्गा रजिस्ट्रेसन भएका छन्। त्यसबाट ३ अर्ब २२ करोड रुपैयाँ रजिस्ट्रेसन राजस्व संकलन भएको छ।

२०८३ असार मसान्तसम्म मधेसबाट बैंक तथा वित्तीय संस्थाले परिचालन गरेको निक्षेप १७.३२ प्रतिशतले बढेर ४ खर्ब ७८ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ। सोही अवधिमा कर्जा प्रवाह भने ०.१८ प्रतिशतले घटेर ४ खर्ब ९४ अर्ब ९५ करोड रुपैयाँ कायम भएको छ।

प्रदेशमा निर्माणाधीन तथा निर्माणको क्रममा रहेका राष्ट्रिय गौरवका आयोजनामा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पूर्व-पश्चिम रेलमार्ग, हुलाकी राजमार्ग, काठमाडौं-तराई-मधेस द्रुतमार्ग र राष्ट्रपति चुरे-तराई मधेस संरक्षण कार्यक्रम छन्। तीमध्ये हुलाकी राजमार्गको निर्माण गति तुलनात्मक रूपमा तीव्र रहेको प्रतिवेदनमा उल्लेख छ।

आर्थिक वर्ष २०८२/८३ मा मधेस प्रदेशबाट वैदेशिक रोजगारीका लागि १ लाख ७९ हजार ४१ जनाले श्रम स्वीकृति लिएका छन्। यो मुलुकभर सो अवधिमा श्रम स्वीकृति लिने कुल संख्याको २२.६० प्रतिशत हो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको