सिरहा। जनमत पार्टीका राष्ट्रिय उपमहासचिव निर्मल मण्डलले वर्तमान सरकारले जनतासँग गरेका प्रतिबद्धता समयमै पूरा गर्दै संघीयतालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताएका छन्।
जनमत पार्टीको केन्द्रीय सर्कुलरअनुसार सिरहा निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत कल्याणपुर नगरपालिकामा पार्टीको नगर समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मण्डलले यस्तो बताएका हुन्।
उनले बालेन नेतृत्वको सरकारले निर्वाचनका क्रममा जनतासमक्ष गरेका प्रतिबद्धता ढिलाइ नगरी पूरा गर्नुपर्नेमा जोड दिए। जनताले परिवर्तनको अपेक्षासहित दिएको मतको सम्मान गर्दै आधारभूत समस्या समाधान, विकास निर्माण, रोजगारी सिर्जना, सुशासन र सार्वजनिक सेवाप्रवाहमा सुधार ल्याउनु सरकारको प्रमुख दायित्व भएको उनको भनाइ थियो।
मण्डलले सिरहा निर्वाचन क्षेत्र नं. ४ बाट निर्वाचित सांसदले यस क्षेत्रका जनताको समस्या समाधानका लागि प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको आरोपसमेत लगाए। जनप्रतिनिधिहरूले जनताका आवश्यकता र समस्यालाई संसद् तथा सम्बन्धित सरकारी निकायसम्म पुर्याएर समाधानका लागि परिणाममुखी पहल गर्नुपर्ने उनले बताए।
‘मधेशको अधिकार, पहिचान र संघीयताको प्रभावकारी कार्यान्वयन आज पनि महत्त्वपूर्ण राजनीतिक सवाल हुन्,’ मण्डलले भने, ‘संघीयता केवल संविधानमा सीमित रहने व्यवस्था होइन। यसले आम नागरिकको जीवनमा परिवर्तन ल्याउनुपर्छ र जनताले आफ्नै ठाउँमा अधिकार, सेवा तथा विकासको अनुभूति गर्न पाउनुपर्छ।’
प्रदेश तथा स्थानीय सरकारलाई संविधानप्रदत्त अधिकार नदिइएका कारण संघीयताप्रति जनतामा निराशा र आक्रोश बढ्दै गएको उनले दाबी गरे। संघीयताको मर्मअनुसार जनतालाई अधिकारसम्पन्न बनाउँदै स्थानीय आवश्यकता, जनजीविका र विकासका सवाललाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए।
मण्डलले मधेशका जनताको राजनीतिक चेतना, अधिकारप्रतिको आकांक्षा र परिवर्तनको चाहनालाई सम्बोधन गर्न आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा अग्रगामी मोर्चाका उम्मेदवारहरूलाई जनताले निर्वाचित गराउने विश्वास व्यक्त गरे। मधेशको अधिकार, पहिचान, सामाजिक न्याय र जनताको हितका विषयलाई राजनीतिक बहसको केन्द्रमा राख्नुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताहरूबीच समसामयिक राजनीतिक अवस्था, संघीयताको कार्यान्वयन, जनताको अपेक्षा र आगामी राजनीतिक कार्यदिशाबारे छलफल भएको थियो।
कार्यक्रममा जनमत पार्टीका कार्यकारिणी सदस्यद्वय विनोद यादव र रञ्जित साह तथा जिल्ला अध्यक्ष पंकज सिंह दनुवारलगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो। सहभागी नेताहरूले शुभकामना मन्तव्य राख्दै पार्टीभित्र आपसी एकता, संगठनात्मक समन्वय र राजनीतिक विचार आदानप्रदानलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।











