सिरहा। सिरहाको गोलबजार नगरपालिका-४ बाट ५३.०३ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबास, महोत्तरीबाट खटिएको प्रहरी टोलीले २०८३ कात्तिक ८ गते उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सिरहाको सुखीपुर नगरपालिका-५ निवासी ३१ वर्षीय अजयकुमार यादव र सुखीपुर नगरपालिका-१० निवासी २० वर्षीय अरविन्दकुमार यादव रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट ५३.०३ ग्राम खैरो हेरोइन, दुई थान मोबाइल, एक थान डिजिटल तराजु र एक थान यामाहा एफजेड भी-३ मोटरसाइकल बरामद गरेको जनाएको छ।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय गोलबजार, सिरहामा बुझाइएको लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासले जनाएको छ।
लागुऔषध (नियन्त्रण) ऐन, २०३३ को सजायसम्बन्धी प्रावधानअनुसार बरामद परिमाणको खैरो हेरोइनसम्बन्धी कसुर प्रमाणित भएमा १० देखि १५ वर्षसम्म कैद र ७५ हजारदेखि दुई लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था रहेको जनाइएको छ।













