धनुषा। धनुषामा श्रीमान्–श्रीमती मृत अवस्थामा फेला परेका छन्। मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरस्थित माइतीघरमा बस्दै आएकी ३० वर्षीया रिनादेवी यादवको धारिलो हतियार प्रहारबाट मृत्यु भएको आशंका गरिएको छ। उनका श्रीमान् ३५ वर्षीय उमेश यादव पनि घरभन्दा करिब एक किलोमिटर टाढा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।
प्रहरीका अनुसार रिनादेवीको घाँटीमा धारिलो हतियार प्रहार भएको घाउ देखिएको छ। घटनाको प्रकृति शंकास्पद देखिएकाले प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको जनाएको छ।
उमेशको घर मिथिला बिहारी नगरपालिका–४ भरतपुरमा रहेको छ। उनी केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट घर फर्किएका थिए। उनी घटनाको अघिल्लो दिन मात्रै ससुराली पुगेका थिए।
मृतक दम्पतीका चार वर्षीय छोरा पनि छन्। बालकको एउटा तिघ्रामा धारिलो हतियार प्रहारबाट भएको जस्तो घाउ देखिएको जनाइएको छ।
धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालले घटनाको प्रकृति शंकास्पद देखिएको बताए। उनका अनुसार प्रहरी घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान गरिरहेको छ।
घटनाको वास्तविक कारण र संलग्नताबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।











