बर्दिबास, महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका-३ कालापानीमा ईभीले मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

भिमानबाट बर्दिबासतर्फ जाँदै गरेको बा.प्र.०१-००७ ख १७८६ नम्बरको ईभीले विपरीत दिशाबाट आउँदै गरेको प्र२-०२-००४ प ८५८५ नम्बरको मोटरसाइकल र बा.९२ प ५५३० नम्बरको स्कुटरलाई ठक्कर दिएको हो।

दुर्घटनामा मोटरसाइकल चालक धनुषाको मिथिला नगरपालिका-११ घर भई हाल बर्दिबास नगरपालिका-१ गालटारमा बस्दै आएका ४० वर्षीय सुजनबहादुर मगर गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा मंगलबार दिउँसो १ः४२ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।
मोटरसाइकलमा सवार मगरकी ३५ वर्षीया श्रीमती फुलकुमारी थापा र तीन वर्षीया छोरी सिसाकुमारी थापा पनि गम्भीर घाइते भएका छन्। फुलकुमारीको शरीरको भित्री भागमा चोट लागेको छ भने सिसाकुमारीको टाउकोमा चोट लागेको छ।
त्यस्तै, स्कुटर चालक सिन्धुलीको दुधौली नगरपालिका-३ ढुंगाटोल निवासी २४ वर्षीय रमेश चौधरी मध्यम घाइते भएका छन्। घाइते तीनै जनाको बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनापछि ईभी सडकबाट करिब १० फिट तल खसेको थियो। ईभीमा सवार यात्रुहरू भने सकुशल रहेको र गन्तव्यतर्फ गएको जनाइएको छ।
दुर्घटनामा संलग्न तीनवटै सवारीसाधन घटनास्थलमै रहेका छन् भने तिनलाई हटाउने पहल भइरहेको छ। दुर्घटनापछि ईभी चालक फरार रहेको र उनको खोजी भइरहेको छ।
ईभीका सहचालक सप्तरीको राजविराज नगरपालिका-७ निवासी करिब २२ वर्षीय मिलन साह भने इलाका प्रहरी कार्यालय बर्दिबासको सम्पर्कमा रहेको जनाइएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।











