सर्वोच्चका लागि चार न्यायाधीश सिफारिस


काठमाडौँ । न्याय परिषद्ले सर्वोच्च अदालतका लागि चार जना न्यायाधीशको नाम सिफारिस गरेको छ।

मंगलबार बसेको परिषद्को बैठकले उच्च अदालतका न्यायाधीशहरू रत्नबहादुर बागचन, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको परिषद्का एक सदस्यले जानकारी दिनुभयो।

बागचन उच्च अदालत पोखराका मुख्य न्यायाधीश हुनुहुन्छ। सारु उच्च अदालत पाटनमा, पाण्डे उच्च अदालत पाटनको हेटौँडा इजलासमा र डाँगी उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा कार्यरत हुनुहुन्छ। डाँगी हाल सर्वोच्च अदालतमा काजमा कार्यरत हुनुहुन्छ।

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको अध्यक्षतामा बसेको बैठकमा कानुनमन्त्री सोविता गौतम, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, महेशकुमार नेपाल र दामोदर खड्का सदस्यका रूपमा सहभागी हुनुहुन्थ्यो।

बैठकले उच्च अदालत तथा जिल्ला अदालतको कार्यबोझ र आवश्यक जनशक्तिको पुनरावलोकन गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णयसमेत गरेको छ। तीन महिनाको कार्यावधि रहने समितिलाई अदालतहरूको कार्यबोझ तथा आवश्यक जनशक्तिबारे अध्ययन गरी सुझाव र सिफारिससहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइनेछ।

त्यस्तै, नेपाल दूरसञ्चार प्राधिकरणले गरेको निर्णयउपर पुनरावेदन सुन्ने समितिको अध्यक्षमा उच्च अदालतका न्यायाधीश गीताप्रसाद तिम्सिनालाई तोक्न नेपाल सरकारसमक्ष सिफारिस गर्ने निर्णय भएको छ।

काठमाडौं उपत्यका विकास प्राधिकरणको निर्णयउपर पुनरावेदन सुन्ने समितिको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश राजुकुमार खतिवडालाई अदालतको कामकाजसमेत गर्ने गरी तोक्न सरकारसमक्ष सिफारिस गर्ने निर्णय परिषद्ले गरेको छ।

उपभोक्ता अदालत, काठमाडौंको अध्यक्ष पदमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्कालाई उपभोक्ता अदालतको कामसमेत हेर्ने गरी तोक्न नेपाल सरकारलाई परामर्श दिने निर्णयसमेत बैठकले गरेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको