असार २० । शरीरको अंग भएकाले खानामा कपाल आउनु कुनै नौलो कुरा होइन । खानामा कपाल पर्नु, झर्नु वा खानामा भेट्नु सामान्य कुरा हो।
खाना बनाउँदा, पकाउँदा, पस्किदा वा खाना खाँदा जहाँबाट पनि कपाल पर्न सक्छ। तर कपाल पर्दा वा खानामा भेटिएपछि धेरैलाई घृणित लाग्छ।
यसरी खानामा कपाल पर्दा कतिपयले फ्याँकिदिएर खाना खान्छन् भने कतिपयले घृणाका कारण खानालाई फ्याँकिदिन्छन् । कुन उचित होला, खाना फ्याँक्नु वा कपाल फ्यालेर खाना खाने ?
कपाल खानु राम्रो होइन । तर कहिलेकाहीँ कपाल गलतीले खानाको साथ निलिन्छ । यदि निलिएको कपाल घाँटीमा नै अड्कियो भने यसले समस्या निम्त्याउन सक्छ। यस अवस्थामा, तपाईंले डाक्टरसँग परामर्श लिनु पर्दछ ।
कुनै खतरनाक रोगका सङ्क्रमित वा गम्भीर रोगको जोखिम भएका मानिसको कपाल परेको खण्डमा बाहेक र आफूलाई सङ्क्रमणको खतरा छैन भने खानामा परेको कपाल फ्याँकेर खाना खाँदा हुन्छ । कपाल झरेको कारणले मात्रै सबै खानेकुरा फाल्नु उचित हुँदैन ।
कतिपय सामाजिक मान्यताका अनुसार कपाल निलिएमा आन्द्रामा बेरिन्छ र खाना बनाउँदा कपाल झर्यो भने परिवारका सदस्य बिरामी हुन्छन् । तर यो प्रमाणित मुद्दा होइन।



















