बर्दिबास बचत तथा ऋण सहकारीको १५औँ साधारण सभा सम्पन्न


बर्दिबास । महोत्तरीको बर्दिबासस्थित बर्दिबास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष सन्तोष श्रेष्ठको सभापतित्व तथा बर्दिबास नगरपालिकाका नगरप्रमुख प्रह्लादकुमार क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा संस्थाको वित्तीय अवस्था, उपलब्धि, चुनौती तथा आगामी कार्यदिशाबारे छलफल गरिएको थियो।

सहकारीले यस वर्षको साधारण सभामा सदस्यलाई केन्द्रमा राख्दै औपचारिक अतिथिका रूपमा पत्रकारबाहेक अन्य व्यक्तिलाई आमन्त्रण नगरेको जनाएको छ। सदस्यसँगको कारोबारलाई थप प्रभावकारी बनाउने, बाल बचतलाई प्रोत्साहन गर्ने, ज्येष्ठ सदस्यको सम्मान गर्ने तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने कार्यक्रमलाई प्राथमिकता दिइएको थियो। सचिव मदनकुमार ठकुरीले सञ्चालन गरेको सभामा सदस्यको हित र संस्थाप्रतिको अपनत्वबारे समेत छलफल भएको थियो।

सभाका अवसरमा संस्थासँग उत्कृष्ट कारोबार गर्ने सदस्य, उत्कृष्ट बाल बचतकर्ता तथा ज्येष्ठ सदस्यलाई सम्मान गरिएको थियो। बचत तथा वित्तीय कारोबारमा सक्रिय सदस्यको योगदानको कदर गर्दै बचत गर्ने बानीको विकास र पुस्तान्तरणलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मान गरिएको संस्थाले जनाएको छ।

त्यसैगरी, शेयर सदस्यका छोराछोरीमध्ये जेहेन्दार विद्यार्थीलाई जनही १५ हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको थियो। शिक्षामा सहयोग पुर्‍याउने उद्देश्यले प्रदान गरिएको छात्रवृत्तिले विद्यार्थीको शैक्षिक यात्रामा टेवा पुग्नुका साथै सदस्यका परिवारप्रतिको संस्थाको सामाजिक उत्तरदायित्वलाई समेत उजागर गरेको छ।

सहकारीको काम बचत संकलन र ऋण प्रवाहमा मात्र सीमित नराखी सदस्यको सामाजिक तथा शैक्षिक विकासमा समेत योगदान पुर्‍याउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाले जनाएको छ। सदस्यको विश्वास, सहभागिता र आर्थिक सशक्तीकरणलाई सहकारीको मुख्य आधारका रूपमा लिइएको संस्थाको भनाइ छ।

सभामा संस्थाका मुख्य व्यवस्थापक रमेशबहादुर सिंहले प्रोजेक्टरमार्फत संस्थाको वित्तीय अवस्था, सामना गरिरहेका चुनौती, उपलब्ध अवसर तथा नियामक निकायबाट जारी नयाँ नियमबारे सदस्यलाई जानकारी गराएका थिए। उनले वित्तीय पारदर्शिता, सुशासन र अनुशासनलाई संस्थाको दिगोपनाका लागि आवश्यक रहेको बताउँदै सदस्यलाई सहकारीसम्बन्धी शिक्षा प्रदान गरेका थिए।

सहकारी क्षेत्रमा पारदर्शिता, सुशासन र वित्तीय अनुशासनको महत्त्व बढिरहेका बेला सदस्यलाई संस्थाको आर्थिक अवस्थाबारे स्पष्ट जानकारी दिनु आवश्यक रहेको व्यवस्थापनले जनाएको छ। संस्थाको अवस्था र आगामी योजनाबारे सदस्यलाई जानकारी गराउँदा उनीहरूको सहभागिता र निर्णय प्रक्रियामा अपनत्व बढ्ने अपेक्षा गरिएको छ।

१५ वर्षदेखि सदस्यको सेवामा सक्रिय बर्दिबास बचत तथा ऋण सहकारीले आगामी दिनमा प्रविधिमैत्री र सदस्यमुखी सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ। बदलिँदो समय र सदस्यको आवश्यकताअनुसार सेवा प्रवाहलाई सहज, प्रभावकारी र विश्वसनीय बनाउँदै सदस्यको हित, विश्वास र सहकार्यलाई केन्द्रमा राखेर अघि बढ्ने संस्थाले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको