केवाइसी अपडेटको बहानामा २२ जनाबाट ५० लाख ठगी, तीन पक्राउ


गौर । बैंक तथा ई-सेवाको कर्मचारी बनेर केवाइसी (KYC) अपडेट गर्ने बहानामा सर्वसाधारणको बैंक खाता तथा डिजिटल वालेटबाट रकम चोरी गर्ने गिरोहको गतिविधि रौतहटमा खुलेको छ। अनलाइन ठगीको जालमा पारेर २२ जनाबाट ४९ लाख ८७ हजार ३३३ रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहारस्थित सीतामढी जिल्लाको बैगनिया घर भई गौर नगरपालिका-३ मा डेरा गरी बस्ने २४ वर्षीय मोहम्मद साहिल, सोही स्थानमा बस्ने २२ वर्षीया सलोनी कुमारी सोनी र गौर नगरपालिका-५ का १८ वर्षीय नितेश कुशवाहा रहेका छन्। जिल्ला प्रहरी कार्यालय गौरले सोमबार पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी सीताराम रिजालका अनुसार असोज २३ गते गौर नगरपालिका-३ को पोखरिया टोल र वडा नम्बर ५ को कोइरी टोलमा छापा मारेर उनीहरूलाई पक्राउ गरिएको हो। प्रारम्भिक अनुसन्धानअनुसार आरोपितहरूले योजनाबद्ध रूपमा मोबाइल नम्बरमा सम्पर्क गरी सम्बन्धित व्यक्ति मोबाइल बैंकिङ प्रयोगकर्ता हो वा होइन भन्ने पहिचान गर्ने र प्रयोगकर्ता भेटिए बैंक वा ई-सेवाको कर्मचारी भएको परिचय दिँदै केवाइसी अपडेट गर्नुपर्ने भन्दै फोन तथा ह्वाट्सएपमार्फत सम्पर्क गर्ने गरेका थिए। विश्वासमा पारिसकेपछि भिडियो कल, मोबाइलको स्क्रिन शेयर र गुगल फारम भर्ने बहानामा बैंकिङ विवरण प्राप्त गरी खातामा अनधिकृत पहुँच बनाउने गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार यसरी प्राप्त विवरणको दुरुपयोग गरी पीडितको बैंक खाता तथा डिजिटल वालेटबाट रकम आफन्त वा अन्य व्यक्तिका खातामा र क्युआर कोडमार्फत स्थानान्तरण गर्ने गरिएको थियो। ठगीबाट प्राप्त रकम अमेरिकी डलरमा रूपान्तरण गरी बाइनान्स एपमार्फत स्थानान्तरण तथा क्रिप्टोकरेन्सीमा लगानीसमेत गरिएको हुन सक्ने प्रहरीले आशंका गरेको छ। रकमको वास्तविक प्रवाह, प्रयोग भएका बैंक खाता तथा डिजिटल माध्यम र क्रिप्टोकरेन्सीसँगको सम्बन्धबारे भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आरोपितहरूमाथि ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।

पक्राउ परेकाहरूको साथबाट नेपाली रुपैयाँ १ लाख ६२ हजार २१० र भारतीय रुपैयाँ ३ हजार २३६ बरामद भएको प्रहरीले जनाएको छ। त्यस्तै, सात थान मोबाइल, ११ थान सिमकार्ड, बैंक तथा वित्तीय संस्थामा रकम जम्मा गरिएका ३० थान भौचर, तीन थान एटीएम कार्ड, तीन थान चेकबुक, एक थान पेनड्राइभ र दुई थान मेमोरी कार्ड बरामद गरिएको छ। रकमको हिसाबकिताब, खातावालालाई फोन गर्दा प्रयोग गरिने संवाद तथा मोबाइलको स्क्रिन शेयर गराउने तरिकाबारे लेखिएका डायरी र कापीसमेत फेला परेको प्रहरीले जनाएको छ। बरामद सामग्रीमा प्रभु बैंकको १६ हजार रुपैयाँको एक थान चेक, ग्लोबल आईएमई बैंकको २० लाख रुपैयाँको एक थान चेक तथा विभिन्न बैंकिङ विवरण उल्लेख भएका कागजातसमेत रहेका छन्।

प्रहरीका अनुसार घटनामा संलग्न मुख्य योजनाकारसहित अन्य व्यक्तिको पहिचान भइसकेको छ र उनीहरूको खोजी भइरहेको छ। २२ जनाको उजुरीबाट खुलेको झन्डै ५० लाख रुपैयाँको कारोबारमा अन्य व्यक्ति तथा खाताको भूमिका, रकमको अन्तिम गन्तव्य, प्रयोग भएका बैंक खाता तथा डिजिटल माध्यम र घटनामा संलग्न व्यक्तिको सञ्जालबारे अनुसन्धान भइरहेको एसपी रिजालले जानकारी दिएका छन्। प्रहरीले बरामद सामग्रीको डिजिटल तथा आर्थिक कारोबारसँगको सम्बन्धसमेत परीक्षण गरिरहेको जनाएको छ।

अनलाइन ठगीबाट जोगिन बैंक वा डिजिटल वालेटको केवाइसी अपडेट गर्ने भन्दै अपरिचित व्यक्तिले फोन गरेमा सतर्क रहन प्रहरीले आग्रह गरेको छ। अपरिचित व्यक्तिको आग्रहमा मोबाइलको स्क्रिन शेयर नगर्न, ओटीपी, पिन, पासवर्ड तथा बैंकिङ विवरण उपलब्ध नगराउन र शंका लागेमा सम्बन्धित बैंक वा डिजिटल वालेटको आधिकारिक माध्यमबाट जानकारी पुष्टि गर्न प्रहरीले सुझाव दिएको छ। यस्ता ठगीमा परेका अन्य व्यक्तिलाई समेत प्रहरी कार्यालयमा सम्पर्क गरी उजुरी दिन आग्रह गरिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको