सोनामाई शक्तिपीठमा भूत मेला सुरु, पाँच लाख भक्तजन आउने अनुमान


औरही । बडादसैँको घटस्थापनासँगै महोत्तरीको औरही नगरपालिका-७, भोइलस्थित प्रसिद्ध सोनामाई शक्तिपीठमा परम्परागत भूत मेला सुरु भएको छ। मेलाको पहिलो दिनदेखि नै दर्शनार्थी तथा ‘कारनी’ भनिने पीडितको भीड लागेको छ।

सोनामाई पूजा समितिले यस वर्ष मेला अवधिमा पाँच लाखभन्दा बढी भक्तजन सहभागी हुने अनुमान गरेको छ। दसैँको चौथीदेखि अष्टमीसम्म विशेष रूपमा भूत मेला लाग्ने यस शक्तिपीठमा घटस्थापनादेखि विजयादशमीसम्म विशेष पूजा तथा धार्मिक अनुष्ठान सञ्चालन गरिन्छ।

मन्दिरका पुजारी केदार झाका अनुसार हरेक वर्षझैँ यस वर्ष पनि हजारौँ दर्शनार्थी तथा कारनी आउने क्रम सुरु भएको छ। स्थानीय जनविश्वासअनुसार भूतप्रेत, बोक्साबोक्सी तथा दुष्ट आत्माको प्रभावबाट पीडित भएको ठानिएका व्यक्तिहरू देवीको दर्शन र पूजाआराधनाबाट मुक्ति पाइने विश्वासका साथ यहाँ आउने गर्छन्।

अर्का पुजारी रमेश झाका अनुसार मन्दिर परिसरमा प्रवेश गरेपछि कारनी भनिएका व्यक्तिहरू कराउने, रुने, हाँस्ने तथा लड्नेजस्ता व्यवहार देखाउँदै देवीको दरबारसम्म पुग्ने गर्छन्। देवीको दर्शन तथा पूजाआराधनापछि निको भएर घर फर्किने जनविश्वास स्थानीयमा रहिआएको उनले बताए।

महोत्तरी, सर्लाही, धनुषा, सिरहा, रौतहट, मकवानपुर, सुनसरी, मोरङ र काठमाडौँलगायत नेपालका विभिन्न जिल्लाका साथै भारतको सीतामढी, मधुवनी र पटनाबाट समेत भक्तजन आउने गरेको पुजारीहरूले बताएका छन्। मेला अवधिमा भक्तजनको सुरक्षा र रातिको बासका लागि आवश्यक व्यवस्था मिलाइएको मेला समितिले जनाएको छ।

स्थानीय जनश्रुतिअनुसार करिब पाँच सय वर्ष पुरानो इतिहास बोकेको सोनामाई शक्तिपीठ मिथिला क्षेत्रको प्रसिद्ध धार्मिकस्थल हो। यहाँ घटस्थापनाका दिन कलश स्थापना गरी नवरात्र पूजा सुरु गरिन्छ। सप्तमीमा फूलपाती भित्र्याउने, अष्टमीमा बोकाको र नवमीमा राँगाको बलि दिने परम्परा रहेको छ।

जलेश्वरदेखि करिब २३ किलोमिटर उत्तर र बर्दिबासदेखि करिब १७ किलोमिटर दक्षिणमा रहेको सोनामाई मन्दिरमा दैनिक पूजापाठ तथा आरती हुँदै आएको छ। मन्दिरको पूर्वाधार विकास, संरक्षण र प्रचारप्रसारमा ध्यान दिन सके यस क्षेत्रलाई धार्मिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्न सकिने स्थानीयवासीको भनाइ छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको