सिरहा, औरही। औरही गाउँपालिका-३ करहरवामा गणेश पूजा मेलाको अवसरमा आयोजित मटकीफोर प्रतियोगिता मंगलबार उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। प्रतियोगितामा पाँच वटा टिमको सहभागिता रहेको थियो।
प्रतियोगितामा सहभागी टिमहरूबीच भएको प्रतिस्पर्धामा कचनारी टिमले ४ बजेर ४८ मिनेटमा मटकी फोर्न सफल हुँदै प्रथम स्थान हासिल गरेको हो। कचनारी टिमका तर्फबाट युवा जित यादवले मटकी फोरेका थिए।
मटकी फोर्न सफल जित यादवलाई प्रोत्साहनस्वरूप अरुण यादवले एक तोला चाँदी र सर्ट-पाइन्टको कपडा प्रदान गरेका थिए।
त्यसैगरी, प्रतियोगितामा प्रथम भएको कचनारी टिमलाई रु. २१ हजार १५५ नगद पुरस्कार प्रदान गरिएको छ। उक्त पुरस्कार औरही गाउँपालिका-३ निवासी तथा बरियारपट्टी चौकमा डाक्टर्स डेन्टल क्लिनिक सञ्चालन गर्दै आएका डा. आशाराम यादवले विजेता टिमलाई प्रदान गरेका हुन्।
गणेश पूजा मेलाको अवसरमा आयोजित मटकीफोर प्रतियोगितामा स्थानीय युवाहरूको उल्लेख्य सहभागिता देखिएको थियो। प्रतियोगिता हेर्न करहरवा तथा आसपासका क्षेत्रबाट स्थानीय बासिन्दाहरू समेत उपस्थित भएका थिए। मटकीफोर कार्यक्रमले गणेश पूजा मेलाको रौनक थप्नुका साथै युवाहरूबीच उत्साह र प्रतिस्पर्धाको वातावरण सिर्जना गरेको थियो।
स्थानीयस्तरमा आयोजना हुने यस्ता सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमले स्थानीय कला-संस्कृतिको संरक्षणसँगै युवाहरूबीच आपसी सद्भाव, भाइचारा र सामाजिक एकता कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने स्थानीयको भनाइ छ।
प्रतियोगितामा प्रथम स्थान हासिल गरेको कचनारी टिमलाई करहरवासीको तर्फबाट हार्दिक बधाई तथा आगामी दिनका लागि शुभकामना व्यक्त गरिएको छ। साथै प्रतियोगितामा सहभागी पाँचै वटा टिम, आयोजक तथा कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद व्यक्त गरिएको छ।
पत्रीका मा छापनु होला











