महोत्तरीमा ट्रान्सफर्मरको तामाको क्वाइलसहित पाँच जना पक्राउ


महोत्तरी । महोत्तरीको बर्दिबासबाट विद्युत् ट्रान्सफर्मरमा प्रयोग हुने तामाको क्वाइलसहित प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी गुरुप्रसाद तिमिल्सिनाका अनुसार असोज १९ गते साँझ करिब ७ बजे बर्दिबास नगरपालिका-१ स्थित हमाल टोलबाट ३३ केभी ट्रान्सफर्मरमा प्रयोग हुने तामाको क्वाइलसहित पाँच जनालाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा सर्लाहीको गोडैता नगरपालिका-६, बगदहका ३१ वर्षीय इन्द्रजित महतो, महोत्तरीको बर्दिबास नगरपालिका-८, हात्तीलेटका २९ वर्षीय दिनेशकुमार महतो, २७ वर्षीय भरत यादव, ३१ वर्षीय भुवन भुजेल र २८ वर्षीय जयराम ठाकुर रहेका छन्।

प्रहरीका अनुसार कवाड व्यवसायी इन्द्रजित महतोले अन्य चार जनासँग उक्त तामाको क्वाइल खरिद गरेको स्वीकार गरेका छन्। उनीहरूलाई इलाका प्रहरी कार्यालय बर्दिबासमा राखी महोत्तरी जिल्ला अदालतबाट पक्राउ परेकै मितिदेखि लागू हुने गरी पाँच दिनको म्याद थप अनुमति लिइएको छ।

प्रहरीले पछिल्लो समय महोत्तरी, धनुषा र सर्लाहीलगायतका जिल्लामा भइरहेको ट्रान्सफर्मर चोरीका घटनासँग पक्राउ परेकाहरूको सम्बन्धबारे अनुसन्धान गरिरहेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी श्यामकृष्ण सारु मगरले पक्राउ परेकाहरूमाथि अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको बताए। ट्रान्सफर्मर चोरीमा संलग्न सम्भावित गिरोह र सञ्जालबारे समेत अनुसन्धान भइरहेको उनको भनाइ छ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले ट्रान्सफर्मर चोरीमा संलग्न गिरोहसम्म पुग्ने गरी सबै पक्षबाट अनुसन्धान भइरहेको बताए। उनले ट्रान्सफर्मर चोरी नियन्त्रणका लागि प्रहरीले आवश्यक सबै प्रकारका अनुसन्धान अघि बढाइरहेको जानकारी दिए।

मधेशमा एक वर्षमा ५८ ट्रान्सफर्मर चोरी

प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा मधेश प्रदेशमा ५८ वटा विद्युत् ट्रान्सफर्मर चोरी भएका छन्। तीमध्ये महोत्तरीमा २८, सर्लाहीमा १७, धनुषामा १० र रौतहटमा ३ वटा ट्रान्सफर्मर चोरी भएको तथ्यांकमा उल्लेख छ।

ट्रान्सफर्मर चोरीका घटनामा प्रदेशभर २० वटा मुद्दा दर्ता हुँदा ६ जना पक्राउ परेका छन्। तथ्यांकअनुसार सबैभन्दा बढी ट्रान्सफर्मर चोरी महोत्तरीमा भएको देखिन्छ, जहाँ एक वर्षमा २८ वटा ट्रान्सफर्मर चोरी भएका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको