काठमाडौं । निर्वाचन आयोगले विदेश तथा अन्तरजिल्लाबाट मतदानको व्यवस्था गर्ने विषयमा २४ वटा राजनीतिक दलसँग राय–सुझाव लिएको छ।
आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार निर्वाचन तथा राजनीतिक दल व्यवस्थापनसम्बन्धी विषयमा सरकारका तीनै तहमा प्रतिनिधित्व भएका राजनीतिक दलसँग छलफल गरिएको हो। कार्यक्रममा आयोगले निर्वाचनका विभिन्न विषयमा प्रस्तुतीकरणसमेत गरेको थियो।
छलफलमा विशेषगरी निर्वाचनमा बढीभन्दा बढी मतदाताको सहभागिता सुनिश्चित गर्ने, बदर मत न्यूनीकरण गर्ने, मतदाता नामावलीको शुद्धता कायम गर्ने तथा विदेश र अन्तरजिल्लाबाट मतदानको व्यवस्था गर्ने विषयमा राय लिइएको आयोगले जनाएको छ।
त्यसैगरी निर्वाचनमा सूचना प्रविधिको प्रयोग, निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन, निर्वाचन खर्च न्यूनीकरण, मतदाता शिक्षा तथा राजनीतिक दलसम्बन्धी ऐनअनुसार दलले गर्नुपर्ने कार्यलगायत समग्र निर्वाचन सुधारका विषयमा पनि छलफल भएको छ।
आयोगका अनुसार संविधानले सबै नागरिकलाई मतदानको अधिकार दिएको भए पनि स्थायी ठेगानाभन्दा बाहिर अस्थायी रूपमा बसोबास गर्ने नागरिकले हाल मतदानको अधिकार प्रयोग गर्न पाएका छैनन्।
निर्वाचनमा प्रविधिको प्रयोग गर्दा विज्ञहरूको सुझावका आधारमा निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयतामा असर नपर्ने गरी अध्ययन गरेर मात्र अघि बढ्नुपर्ने सुझाव राजनीतिक दलबाट प्राप्त भएको आयोगले जनाएको छ।
निर्वाचन खर्च न्यूनीकरण, मतदाता शिक्षा र मतदाता नामावली तयारीलगायतका विषयमा राजनीतिक दलहरूले आयोगलाई सहयोग गर्नुपर्ने आयोगको आग्रह छ।
कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले राजनीतिक दल र आयोगबीचको आपसी सहयोग तथा सहकार्यबाट लोकतान्त्रिक पद्धतिअनुसार निर्वाचनका सबै पक्षमा समयानुकूल सुधार गर्न सकिने बताए।
आयोगका अनुसार कार्यक्रममा निर्वाचन आयुक्तहरू डा. जानकीकुमारी तुलाधर, सगुन शमशेर जबरा, गुरुप्रसाद वाग्ले, डा. राजीव सुब्बा तथा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईलगायतको उपस्थिति थियो।












