बर्दिबास अस्पतालमा रेबिजविरुद्ध खोप अभाव, बिरामी निजी स्वास्थ्य संस्थामा जान बाध्य


बर्दिबास । सरकारी अस्पतालमा रेबिजविरुद्ध दिइने एन्टी रेबिज भ्याक्सिन (एआरभी) को अभाव हुँदा कुकुर तथा अन्य जनावरको टोकाइबाट पीडित बिरामी समस्यामा परेका छन्। सरकारी स्वास्थ्य संस्थामा खोप नपाएपछि उनीहरू निजी स्वास्थ्य संस्था तथा क्लिनिकमा महँगो शुल्क तिरेर उपचार गराउन बाध्य भएका छन्।

नेपालले सन् २०३० सम्ममा कुकुरको टोकाइबाट हुने रेबिज उन्मूलन गर्ने लक्ष्य लिएको छ। तर, सरकारी स्वास्थ्य संस्थामै एआरभी खोपको अभाव हुँदा विशेषगरी आर्थिक रूपमा कमजोर परिवारका बिरामीलाई थप आर्थिक भार परेको छ।

गत साता बिहान बजारबाट दूध किनेर घर फर्कंदै गरेका बर्दिबास नगरपालिका-२ का ७२ वर्षीय नीलप्रसाद गौतमलाई बर्दिबास-जलेश्वर सडकखण्डमा भुस्याहा कुकुरले दाहिने खुट्टामा टोकेको थियो। केही बेरपछि सोही कुकुरले बर्दिबास नगरपालिका-१ की बालिका विनिता श्रेष्ठलाई समेत टोकेको थियो।

स्थानीयका अनुसार उक्त कुकुरले यसबीचमा दर्जनभन्दा बढी व्यक्तिलाई टोकेको छ। कुकुर अझै नियन्त्रणमा नआएकाले पीडितको सङ्ख्या थप बढ्न सक्ने स्थानीयको भनाइ छ।

कुकुरले टोकेपछि बर्दिबास अस्पताल पुगेका गौतमले त्यहाँ एआरभी खोप नपाएपछि निजी स्वास्थ्य संस्था शुभ स्वस्तिक अस्पतालमा शुल्क तिरेर खोप लगाएको बताए। उनीजस्तै बर्दिबास क्षेत्रका ५० जनाभन्दा बढी कुकुरको टोकाइबाट पीडित व्यक्ति निजी स्वास्थ्य संस्था तथा क्लिनिकमा शुल्क तिरेर खोप लगाउन बाध्य भएका छन्।

बर्दिबास अस्पतालको अभिलेखअनुसार रेबिजविरुद्धको खोप लगाउन आउने बिरामीको सङ्ख्या बढ्दै गएको छ। प्रदेश स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्र, जनकपुरबाट मागअनुसार खोप आपूर्ति नहुँदा भदौदेखि नै अस्पतालमा खोप अभाव भएको हो।

अस्पतालको खोप शाखाका प्रमुख अर्जुन साहका अनुसार बर्दिबास अस्पतालमा वार्षिक करिब तीन हजार जना रेबिजविरुद्धको खोप लगाउन आउने गर्छन्। एक जना बिरामीलाई सामान्यतया तीन डोज खोप आवश्यक पर्ने भएकाले मागअनुसार आपूर्ति नहुँदा समस्या भएको उनले बताए।

खोपको अभाव भएपछि बर्दिबास नगरपालिकाले अस्पताललाई १०० भाइल एआरभी उपलब्ध गराएको थियो। तर, बिरामीको चाप बढेकाले उक्त खोप पनि केही दिनमै सकिएको साहले बताए।

चालु आर्थिक वर्ष २०८३/८४ को साउन र भदौमा मात्रै बर्दिबास अस्पतालमा कुकुर, स्याल, बिरालो र बाँदरको टोकाइबाट ३५३ जना उपचारका लागि आएका थिए। उनीहरूका लागि ५३० डोज एआरभी आवश्यक थियो। तर, स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्रले दुई महिनामा २४० भाइल मात्र एआरभी उपलब्ध गराएको अस्पतालले जनाएको छ।

“साउन र भदौमा आएका बिरामी धान्नका लागि नै ११३ भाइल औषधि कम भयो। असोज ९ गतेसम्म रेबिजविरुद्धको सुई लगाउने ४० जना पुगिसकेका छन्। थप औषधि आएको छैन,” साहले भने, “यसले बिरामीलाई समस्या परेको छ।”

बर्दिबास अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रितेश घिमिरेले रेबिज प्राणघातक रोग भएकाले जोखिममा परेका व्यक्तिले सकेसम्म छिटो खोप लगाउनुपर्ने बताए।

“रेबिजबाट बचाउने एआरभी एक मात्र उपाय हो। खोप लगाउन ढिलो गर्दा रेबिजको सङ्क्रमण केन्द्रीय स्नायु प्रणालीमा फैलियो भने यसको कुनै उपचार छैन,” उनले भने, “यस्तो अवस्थामा खोप अभाव हुनु दुर्भाग्यपूर्ण हो।”

मधेस प्रदेशका स्वास्थ्य सचिव डा. प्रमोदकुमार यादवका अनुसार महोत्तरीमा मात्र नभई प्रदेशभर नै रेबिजविरुद्धको खोप अभाव छ। उनका अनुसार मधेस प्रदेशमा वार्षिक ५० हजारभन्दा बढी एआरभी आवश्यक पर्ने भए पनि टेकुस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण शाखाबाट बढीमा १५ देखि २० हजार डोज मात्र आपूर्ति हुने गरेको छ।

“हामीले आपूर्ति बढाउन टेकुलाई आग्रह गर्दै आएका छौँ,” उनले भने, “जनस्वास्थ्यलाई दृष्टिगत गर्दै मधेस सरकारले चालु आर्थिक वर्षमा खोप खरिदका लागि एक करोड रुपैयाँ बजेट छुट्याएको छ। ठेक्का प्रक्रियामार्फत रेबिज तथा सर्पदंशको खोपको आपूर्ति सहज बनाउने प्रयास भइरहेको छ।”

सरकारी अस्पतालमै अत्यावश्यक एआरभी खोपको अभाव भएपछि बिरामीले निजी स्वास्थ्य संस्थामा महँगो शुल्क तिर्नुपर्ने अवस्था आएको छ। रेबिजबाट जोगिन समयमै खोप लगाउनुपर्ने चिकित्सकको सुझाव रहेकाले सरकारी स्वास्थ्य संस्थामा खोपको नियमित र पर्याप्त आपूर्ति सुनिश्चित गर्नुपर्ने देखिएको छ। – गोरखापत्र


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको