सर्लाही । अश्लील तस्बिर तथा भिडियोको दुरुपयोग गरी ब्ल्याकमेल गरेको आरोपमा सर्लाही प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सर्लाहीको बसबरिया गाउँपालिका–३ का शिवचरण मुखिया रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मुखियाले चिनजान तथा नाता सम्बन्धका आधारमा एक महिलालाई विश्वासमा पारी WhatsApp मार्फत पटक–पटक भिडियो कल गर्ने गरेका थिए। सो क्रममा अश्लील संवाद गरी भिडियोसमेत रेकर्ड गरेको र त्यसलाई दुरुपयोग गर्दै ब्ल्याकमेल गरेको आरोपमा उनी पक्राउ परेका हुन्।
प्रहरीमा परेको जाहेरीअनुसार मुखियाले विभिन्न दबाब तथा धम्की दिई पीडित महिलालाई शरीरबाट लुगा हटाउन बाध्य बनाएको र सो क्रममा भिडियो रेकर्ड गरेको आरोप छ। उक्त अश्लील तस्बिर, भिडियो तथा कुराकानीको रेकर्ड आफ्नो मोबाइलमा सुरक्षित राखी पीडित महिला तथा उनका आफन्तलाई पठाएको समेत जाहेरीमा उल्लेख छ।
प्रहरीका अनुसार मुखियाले उक्त तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने र पीडितका परिवार तथा आफन्तलाई पठाइदिने धम्की दिँदै ५० हजार रुपैयाँ माग गरेको आरोपसमेत छ।
मुखियालाई विद्युतीय कारोबार ऐनअन्तर्गत साइबर अपराधसम्बन्धी कसुरमा अनुसन्धानका लागि सर्लाही जिल्ला अदालतबाट सात दिनको प्रहरी हिरासतमा राख्ने अनुमति लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले निजी तथा अश्लील तस्बिर वा भिडियो प्राप्त गरी त्यसलाई सार्वजनिक गर्ने धम्की दिने अथवा त्यस्ता सामग्रीका आधारमा रकम माग गर्ने कार्य साइबर अपराधको गम्भीर स्वरूप भएको जनाएको छ।
प्रहरीका अनुसार WhatsApp च्याट, फोन नम्बर, कल विवरण, तस्बिर, भिडियो, अडियो तथा अन्य डिजिटल सामग्री अनुसन्धानका महत्वपूर्ण प्रमाण बन्न सक्छन्। यस्ता प्रमाण सुरक्षित राख्न प्रहरीले आग्रह गरेको छ।
साथै, कसैको निजी वा अश्लील तस्बिर तथा भिडियो प्राप्त भएमा त्यसलाई शेयर, फर्वार्ड, लाइक, सामाजिक सञ्जालमा पोस्ट वा अन्य व्यक्तिलाई पठाउने कार्य नगर्न प्रहरीले अनुरोध गरेको छ। पीडितले त्यस्ता सामग्री, धम्कीसम्बन्धी म्यासेज, च्याट तथा अन्य डिजिटल रेकर्ड सुरक्षित राखी तत्काल प्रहरीलाई जानकारी गराउनसमेत जिल्ला प्रहरी कार्यालय सर्लाहीले आग्रह गरेको छ।











