सिरहाको लहानस्थित आन्तरिक राजस्व कार्यालयका कर अधिकृत युवराज एम.एस. पालविरुद्ध पाँच लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दायर गर्दै घुस रकमको लेनदेनमा बिचौलियाको भूमिका निर्वाह गरेको आरोपमा चार्टर्ड एकाउन्टेन्ट राम रिझन यादवलाई समेत प्रतिवादी बनाएको जनाएको छ।
अख्तियारका अनुसार आर्थिक वर्ष २०७८/७९ को पूर्ण कर लेखापरीक्षण (फुल अडिट) तथा कर निर्धारणसम्बन्धी काम फर्छ्यौट गरिदिने भन्दै कर अधिकृत पालले सेवाग्राहीसँग घुस मागेका थिए। सेवाग्राहीले पेस गरेका बिल-बिजक नमिलेको भन्दै करसम्बन्धी काम रोक्नुका साथै दुःख–हैरानी दिएपछि यादवमार्फत घुस रकमको बार्गेनिङ गरिएको अनुसन्धानबाट खुलेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
अनुसन्धानका क्रममा पालले सेवाग्राहीबाट पाँच लाख रुपैयाँ घुस लिइरहेको अवस्थामा अख्तियारको बर्दिबासस्थित कार्यालयबाट खटिएको टोलीले साउन ७ गते उनलाई रंगेहात नियन्त्रणमा लिएको थियो। पालले घुस रकम कार्यालयमै ल्याउन भनेपछि रकम बुझ्ने क्रममा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ।
अख्तियारका अनुसार पालले आफ्नो पद तथा जिम्मेवारीको दुरुपयोग गर्दै सेवाग्राहीसँग गैरकानुनी रूपमा घुस मागेको र रकम लिएको आरोपमा भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम मुद्दा दायर गरिएको हो।
त्यस्तै, घुस रकमको लेनदेनमा बिचौलियाको भूमिका निर्वाह गरेको आरोपमा चार्टर्ड एकाउन्टेन्ट यादवलाई समेत प्रतिवादी कायम गरी आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।
आयोगले विशेष अदालतमा दायर गरेको आरोपपत्रमा दुवै प्रतिवादीलाई प्रचलित कानुनबमोजिम सजाय हुनुका साथै बिगो असुलउपरको मागदाबी गरिएको जनाएको छ।









