वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका-११ श्रीपुरस्थित आर.पी. फर्मासिटिकल प्रा.लि. उद्योगमा अवैध रूपमा औषधि उत्पादन, लेबलिङ तथा प्याकेजिङ गरी बिक्री वितरण भइरहेको अवस्थामा प्रहरीले उद्योग सञ्चालकलाई नियन्त्रणमा लिएको छ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र औषधि व्यवस्था विभाग, शाखा कार्यालय वीरगञ्जबाट खटिएको संयुक्त टोलीले बुधबार दिउँसो करिब ३ः३० बजे उद्योगमा चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा बिना अनुमति औषधि उत्पादन तथा बिक्री वितरणका लागि प्रयोग भइरहेको विभिन्न औषधिजन्य सामग्री, प्याकेजिङ तथा लेबलिङ उपकरण बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले उद्योग सञ्चालक वीरगञ्ज महानगरपालिका-२२ निवासी ३४ वर्षीय राहुल कुमार चौहानलाई बरामद सामग्रीसहित नियन्त्रणमा लिएको छ। उनलाई थप अनुसन्धानका लागि औषधि व्यवस्था विभाग, शाखा कार्यालय वीरगञ्जमा पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उद्योगबाट Rectified Spirit 100 ml का ४० बोतल, Rectified Spirit 400 ml का ३ हजार ९० बोतल, Safer Plan Hand Rub Sanitizer का १ हजार ५०० बोतल, Clove Oil IP 5 ml का १५ हजार भायल, GV Paint 10 ml का २५ भायल तथा Rectified Spirit ५ लिटरका २८ जार बरामद गरिएको छ।
त्यसैगरी Vial Sealing Machine एक थान, Printing Machine एक थान, Hand Rub Sanitizer १९२ पिस तथा विभिन्न Packaging एवं Labels समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
उद्योगमा आवश्यक अनुमति तथा कानुनी प्रक्रिया पूरा नगरी औषधिजन्य सामग्री उत्पादन, लेबलिङ र प्याकेजिङ गरी बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा कारबाही अघि बढाइएको हो।
घटनाबारे औषधि व्यवस्था विभागको समन्वयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।









