महोत्तरी, बर्दिबास। बर्दिबास नगरपालिका वडा नं. ३ स्थित कालापानी क्षेत्रमा एलानी तथा अव्यवस्थित बसोबासीको विषयलाई लिएर तनाव उत्पन्न भएको छ। रातिको समयमा वन कार्यालयको टोली बस्तीमा पुगेपछि स्थानीय आन्दोलित बनेका छन् भने आज बिहानैदेखि सडकमा उत्रिएर पुनः आन्दोलन सुरु गरेका छन् ।
स्थानीयका अनुसार वन अधिकृत स्वाता झाको नेतृत्वमा ७ जनाको टोली बा २ झ २७४९ नम्बरको गाडीमा राति बस्तीमा पुगेको थियो। टोलीले बिना सूचना घर–घरमा प्रवेश गरेको आरोप स्थानीयवासीले लगाएका छन्।
घटनापछि आक्रोशित स्थानीयले उक्त गाडीमा राति आगजनी गरेका हुन्। आगलागीबाट गाडी पूर्ण रूपमा जलेर नष्ट भएको बताइएको छ।

स्थानीय नेता गणेश बस्नेतका अनुसार सरकारले लामो समयदेखि स्थानीयको माग बेवास्ता गरेपछि आफूहरू सडक आन्दोलनमा उत्रिन बाध्य भएको बताए।
“प्रदेश सरकारले कुनै पनि वन कार्यालयलाई यस्तो निर्देशन दिएको छैन। त्यसपछि पनि राति बस्तीमा घुसपैठ गरेर घर–घरमा पस्नु कतिको उचित हो ? हाम्रो माग पूरा नभएसम्म हामी सडक छोड्दैनौं,” बस्नेतले भने।
आज बिहानदेखि स्थानीयवासी शान्तिपूर्ण रूपमा सडक आन्दोलनमा उत्रिएका छन्। प्रदर्शनका कारण क्षेत्रमा यातायात प्रभावित भएको छ भने सुरक्षा व्यवस्था कडा पारिएको छ।

स्थानीय सुमिन्त्रा भण्डारीका अनुसार आफूहरू शान्तिपूर्ण आन्दोलनमा बसिरहेको अवस्थामा रातिको समयमा प्रहरीले घर–घरमा प्रवेश गरेर कुटपिट गरेको आरोप लगाइन् ।
“हामी शान्तिपूर्ण आन्दोलनमा थियौं, तर राति प्रहरीले घरमा पसेर कुटपिट गर्यो । अहिले हामी त्रसित अवस्थामा छौं,” उनले भनिन् ।
स्थानीयवासीले एलानी तथा अव्यवस्थित बसोबासीको समस्या वार्ता र सहमतिका आधारमा समाधान गर्नुपर्ने माग गरेका छन् । घटनापछि कालापानी क्षेत्र तनावग्रस्त बनेको छ ।

घटनाबारे वन कार्यालय, प्रहरी तथा जिल्ला प्रशासन कार्यालयबाट औपचारिक प्रतिक्रिया आउन बाँकी रहेको छ।









