सर्लाही। सर्लाहीको पर्सा गाउँपालिका-२ संग्रामपुरस्थित नेपाल-भारत सीमा क्षेत्रको दशगजामा एक पुरुषको बेवारिसे शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा डीएसपी सरोज राई का अनुसार सोमबार दिउँसो करिब ४ बजे सीमा स्तम्भ नम्बर ३१७/२ नजिक नेपालतर्फ अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको हो।
मृतकको नाम, थर तथा ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनास्थलमा बोराको झोलाभित्र मदिरा र केही भारतीय रुपैयाँ समेत फेला परेको छ। स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।
















