महोत्तरीमा खोलामा डुबेर तीन बालिकाको मृत्यु


महोत्तरी। महोत्तरीको मनरासिस्वा नगरपालिका-७ सरपल्लोमा खोलामा डुबेर तीन बालिकाको मृत्यु भएको छ। मृतकमध्ये दुई जना दिदीबहिनी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार मृत्यु हुनेमा स्थानीय विरेन्द्र भण्डारीकी १३ वर्षीया छोरी स्नेहा भण्डारी, ६ वर्षीया शिवानी भण्डारी तथा अजीज नदाफकी छोरी अफ्साना खातुन रहेका छन्।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका मुद्दा शाखाका प्रहरी निरीक्षक विश्वम्भरनाथ साहका अनुसार पौडी खेल्ने क्रममा तीन बालिका डुबेको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। तीनै जनालाई उद्धार गरी प्रादेशिक अस्पताल जलेश्वर पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

हाल मृतक बालिकाहरूको मुचुल्का उठाउने कार्य भइरहेको र पोस्टमार्टमपछि शव परिवारलाई बुझाइने प्रहरीले जनाएको छ।

स्थानीयका अनुसार स्नेहा र अफ्साना सरपल्लोस्थित मुनिलाल माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत मिल्ने साथी थिए। विद्यालयबाट फर्किएपछि दुवै जना अंकुशी र जंघा खोलाको दोभानमा नुहाउन गएका थिए। उनीहरूसँगै स्नेहाकी बहिनी शिवानी पनि पछ्याउँदै खोलातर्फ पुगेकी थिइन्।

मृतक स्नेहाकी हजुरआमा मरनी देवीका अनुसार विद्यालयबाट आएपछि चिया खाएर उनीहरू नुहाउन गएका थिए। नुहाउने क्रममा खुट्टा चिप्लिएर खोलामा बनेका गहिरा खाल्डामा डुबेको हुन सक्ने आशंका गरिएको छ।

“उनीहरू सधैं घरकै धारामा नुहाउँथे, आज एक्कासि खोलामा गएछन्,” हजुरआमा मरनी देवीले भनिन्, “होहल्ला भएपछि हामी घटनास्थल पुगेर प्रहरीको सहयोगमा अस्पताल लग्यौं।”

चार दिदीबहिनीमध्ये स्नेहा र शिवानी साहिँली र कान्छी रहेको परिवारले जनाएको छ। अहिले तीनै बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको