खुर्कोट हिरासत मृत्यु प्रकरण: छानबिन प्रतिवेदन गृह मन्त्रालयमा, दुई प्रहरीमाथि कारबाही सिफारिस


काठमाडौं। नेपाल प्रहरीले इलाका प्रहरी कार्यालय खुर्कोट, सिन्धुलीको हिरासतमा शंकास्पद अवस्थामा मृत फेला परेका श्रीकृष्ण विक प्रकरणको छानबिन प्रतिवेदन प्रहरी प्रधान कार्यालयमार्फत गृह मन्त्रालयमा पठाएको छ।

घटनाको अनुसन्धानका लागि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा कार्यरत डीआईजी दिनेशकुमार आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको थियो। समितिले तयार पारेको प्रतिवेदन प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा पठाइसकेको अविनारायण काफ्लेले जानकारी दिएका छन्।

प्रहरी स्रोतका अनुसार प्रतिवेदनमा इलाका प्रहरी कार्यालय खुर्कोटका इन्सपेक्टर बसन्त भुजेल र हिरासत ड्यूटीमा खटिएका प्रहरी जवान अर्जुन सिंहलाई विभागीय कारबाही गर्न सिफारिस गरिएको छ। सिफारिसअनुसार इन्सपेक्टर भुजेललाई खुर्कोटबाट सरुवा गरी बागमती प्रदेश कार्यालय पठाइएको बताइएको छ।

त्यस्तै, खुर्कोटमा कार्यरत अन्य १० जना प्रहरी कर्मचारीलाई ध्यानाकर्षण तथा सचेत गराउन सुझाव दिइएको स्रोतले जनाएको छ।

७ वैशाखको साँझ हिरासतको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेका श्रीकृष्ण विकलाई उद्धार गरी सिन्धुली अस्पताल लगिएको थियो। उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनापछि हिरासतभित्रको मृत्यु शंकास्पद देखिएको भन्दै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले ११ वैशाखमा छानबिन समिति गठन गरेका थिए। समितिमा यूएन शाखाका एसपी रवीन्द्रनाथ पौडेल, सीआईबीका इन्स्पेक्टर इन्द्रजित सुनार, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका इन्स्पेक्टर प्रेम रेग्मी तथा सई राजेश्वर देवकोटा सदस्य थिए।

घटनालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू खगेन्द्र सुनार, रिमा विश्वकर्मा, सुष्मा स्वर्णकार, खिमा विश्वकर्मा तथा नेपाल कम्युनिस्ट पार्टीका सांसद गणेश विकलगायतले जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा धर्ना दिँदै निष्पक्ष छानबिनको माग गरेका थिए।

के थियो घटना?

प्रहरीका अनुसार मृतक श्रीकृष्ण विक र खोटाङकी एक किशोरीबीच करिब दुई वर्षदेखि प्रेम सम्बन्ध रहेको बताइएको छ। २८ चैतदेखि किशोरी सम्पर्कविहीन भएपछि परिवारले ३० चैतमा प्रहरी वृत्त सातदोबाटोमा खोजतलासका लागि निवेदन दिएका थिए।

३ वैशाखमा किशोरी र श्रीकृष्ण विक आफन्तसहित प्रहरी वृत्त सातदोबाटो पुगेका थिए। त्यही क्रममा किशोरी पक्षबाट जबर्जस्ती करणीसम्बन्धी जाहेरी दर्ता गराइएको प्रहरीले जनाएको छ। घटनास्थल सिन्धुली क्षेत्रसँग सम्बन्धित र किशोरीको उमेर १६ वर्ष रहेकाले अनुसन्धानका लागि ४ वैशाखमा श्रीकृष्णलाई इलाका प्रहरी कार्यालय खुर्कोट पठाइएको थियो।

यता, घटनाबारे आवाज उठाउँदै आएका सांसद खगेन्द्र सुनारले भने किशोरीलाई दबाबमा राखेर जाहेरीमा हस्ताक्षर गराइएको दाबी गर्दै आएका छन्।

प्रहरीले जबर्जस्ती करणी मुद्दामा अनुसन्धान अघि बढाइरहेका बेला ७ वैशाख साँझ श्रीकृष्ण विक हिरासतको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेका थिए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको