२९ वैशाख , बर्दिबास । महोत्तरीको बर्दिबास मा पहिलो पटक भव्य सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रम ‘प्रथम बर्दिबास म्युजिकल फेस्टिभल–२०८३’ आयोजना हुने भएको छ। राईजिङ इभेन्ट्स प्रा.लि. को आयोजनामा हुने महोत्सव वैशाख ३० गतेदेखि जेठ ३ गतेसम्म सञ्चालन गरिने आयोजकले जनाएको छ।
मंगलबार बर्दिबासमा आयोजित पत्रकार सम्मेलनमार्फत म्युजिकल फेस्टिभलबारे औपचारिक जानकारी दिँदै आयोजकले स्थानीय कला, संस्कृति, मनोरञ्जन तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गर्न लागिएको बताएको हो। म्युजिकल फेस्टिभल शुभ स्वस्तिक अस्पताल को छेउमा रहेको स्थानमा सञ्चालन हुने जनाइएको छ।
आयोजकका अनुसार फेस्टिभलको मुख्य आकर्षणका रूपमा चर्चित गायक दुर्गेश थापा र मिस्टर डी को विशेष प्रस्तुति रहनेछ। दुर्गेश थापाले शनिबार दर्शकलाई मनोरञ्जन दिनेछन् भने मिस्टर डी आइतबार मञ्चमा उत्रिने कार्यक्रम तय गरिएको छ।
त्यसैगरी, नेपाली सांगीतिक क्षेत्रमा लोकप्रिय कलाकारहरू रचना रिमाल, सहिमा श्रेष्ठ, डिजराज पौडेल तथा प्रिति पासवान ले पनि प्रस्तुति दिनेछन्। आयोजकले स्थानीय प्रतिभालाई समेत प्राथमिकता दिँदै रुद्रसेन विश्वकर्मा, डिके सरकार तथा बर्दिबास डान्स स्टुडियोका कलाकारहरूलाई विशेष अवसर प्रदान गरिने जनाएको छ।
म्युजिकल फेस्टिभललाई सांगीतिक कार्यक्रममा मात्र सीमित नराखी पारिवारिक मनोरञ्जनको केन्द्रका रूपमा विकास गर्न खोजिएको आयोजकको भनाइ छ। बालबालिकालाई लक्षित गर्दै महोत्सव स्थलमा विशेष ‘बाल उद्यान’ निर्माण गरिएको छ। जहाँ रोटेपिङ, डुङ्गा सयर, जम्पिङ मिकी माउस तथा बच्चाहरूका लागि रेलजस्ता मनोरञ्जनात्मक खेल सामग्री राखिनेछन्।
बर्दिबास युथ क्लब को सह–आयोजनामा तथा एभरेष्ट इभेन्ट म्यानेजमेन्ट को व्यवस्थापनमा हुन लागेको महोत्सवले स्थानीय आर्थिक गतिविधि तथा व्यावसायिक चहलपहलमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
आयोजक संस्थाले महोत्सवमार्फत बर्दिबासलाई सांगीतिक तथा मनोरञ्जनात्मक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ। साथै, स्थानीय कला–संस्कृतिको संरक्षण, युवा प्रतिभाको प्रवर्द्धन र आन्तरिक पर्यटन विस्तारमा कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।









