धनुषा। ढल्केबर स्थित पूर्व-पश्चिम राजमार्ग किनारको एक होटलमा युवती मृत फेला परेकी छन्।
मिथिला नगरपालिका-६ मा रहेको जुनतारा स्टाप लाइन होटलमा मंगलबार करिब साढे ११ बजेतिर जेनिसा विक (२३) मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसी ले जानकारी दिएका छन्।
प्रहरीका अनुसार मृतकको मुखबाट फिज निस्किएको देखिएको छ भने शरीरका अन्य भागमा बाह्य चोटपटक नदेखिएको प्रारम्भिक जानकारी छ। मृत्युको कारण खुल्न नसकेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
घटनापछि होटल सञ्चालक रामपुकार साह तथा अन्य कामदार फरार रहेका छन्। उनीहरूको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थलको आवश्यक प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाएको छ।









