जनकपुरधाम। मधेश प्रदेश सरकारको सक्रियतासँगै गङ्गासागर पोखरी क्षेत्रबाट अतिक्रमण हटाउने अभियान तीव्र पारिएको छ।
गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो को पहलमा आइतबार पोखरी आसपासका अवैध संरचना डोजर प्रयोग गरी हटाइएको हो। जनकपुरधाम उपमहानगरपालिका र जनकपुरधाम उद्योग वाणिज्य सङ्घ को सहकार्यमा सञ्चालन गरिएको अभियानले लामो समयदेखि विवादमा रहेको क्षेत्रलाई व्यवस्थित गर्ने लक्ष्य लिएको छ।
स्थानीय प्रशासन, प्रहरी तथा नगर प्रहरीको उपस्थितिमा अतिक्रमित संरचना हटाइँदा केही स्थानमा सामान्य तनावसमेत देखिएको थियो।
मन्त्री महतोले गङ्गासागर पोखरीको संरक्षण धार्मिक आस्था मात्र नभई ऐतिहासिक पहिचान र पर्यटन प्रवर्द्धनसँग जोडिएको विषय भएको उल्लेख गर्दै सार्वजनिक सम्पत्तिको संरक्षणमा सरकार कठोर रूपमा प्रस्तुत हुने बताएका छन्।
स्थानीयवासीले वर्षौँदेखि अतिक्रमणका कारण पोखरी क्षेत्र साँघुरिँदै गएको गुनासो गर्दै आएका थिए। पछिल्लो कदमलाई धेरैले सकारात्मक रूपमा लिएका छन् भने केही व्यवसायीले वैकल्पिक व्यवस्थाबिना हटाइएको भन्दै असन्तुष्टि जनाएका छन्।










