कपिलवस्तुको महाराजगञ्जमा साम्प्रदायिक तनाव, ५ जना घाइते, निषेधाज्ञा जारी


कपिलवस्तु। कपिलवस्तुको महाराजगञ्ज नगरपालिका अन्तर्गत बर्गदवा क्षेत्रमा दुई समुदायबीच उत्पन्न तनावपछि झडप हुँदा ५ जना घाइते भएका छन्।

घटना चर्किँदै गएपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तु ले शुक्रबार दिउँसो २ बजेदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्मका लागि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ।

निषेधाज्ञाअनुसार भेला, सभा, जुलुस तथा समूहगत गतिविधिमा पूर्ण प्रतिबन्ध लगाइएको छ।

झडपमा घाइते भएका पाँच जनामध्ये तीन जनालाई गोली लागेको छ। घाइतेहरूलाई उपचारका लागि शिवराज अस्पताल मा भर्ना गरिएको थियो। तीमध्ये गम्भीर अवस्थाका तीन जनालाई थप उपचारका लागि भैरहवा मेडिकल कलेज रिफर गरिएको अस्पतालले जनाएको छ।

गोली लागेर घाइते हुनेहरूमा २२ वर्षीय जितेन्द्र यादव, २० वर्षीय मोनु पासी र २५ वर्षीय प्रदीप पासी रहेका छन्। अन्य दुई घाइतेको शिवराज अस्पतालमै उपचार भइरहेको छ।

स्थिति नियन्त्रणमा लिन क्षेत्रभर सुरक्षा व्यवस्था कडा पारिएको छ। स्थानीय प्रशासनले सर्वसाधारणलाई संयमित रहन, अफवाह नफैलाउन र शान्ति कायम राख्न सहयोग गर्न आग्रह गरेको छ।

यसैबीच, आन्दोलनकारीहरूले गैडहवा, बहादुरगञ्ज, बुटहनिया र डुमरा लगायतका क्षेत्रमा टायर बालेर चक्काजाम गरेका छन् भने दोषीमाथि कारबाहीको माग गरेका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको